
दमक,३२ साउन । झापामा भोलि भदौ १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा केहि परिमार्जित गरि खुलाउने निर्णय भएको छ । कोरोाना सक्रमण रोकथामका लागि निरन्तर रुपमा निषेधाज्ञा लाग्दै आएका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा परिमार्जित गरि वजार खुलाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापामा आज सोमबार बसेको डीसीएमसी बैठकले दुई चरणमा वजार खुलाउने गरि भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बाइए पनि जिल्लाका सबै खाले पसल खुलाउने निर्णय गरेको छ ।
पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने र दोस्रो चरणमा कपडा, हार्डवेयर, होटल लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय गरिएको झापाका प्रमुख जिला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
निषेधाज्ञालाई हटाउन र ब्यापार ब्यवसाय गर्ने अवस्था सिर्जना गर्न जिल्लाका ब्यवसायीहरुको तीब दबाब पछि प्रशासनले जिल्लाका वजार खुलाउने निर्णय गरेको प्रशासन स्रोतले जनाएको छ । झापा जिल्लाभर लागू गरिएको सिल अव पनि नखोलिए जिल्लाका उद्योगी,व्यवसायीहरुले निषेधज्ञा उलङघन गर्ने चेतावनी दिएका थिए । साउन १६ गतेदेखि जिल्लाभर लगाईएको निषेधज्ञा आज राती १२ बजे सकिदैछ । बैठकमा झापामा कोरोना संक्रमणदर नघटेका कारणले गर्दा पूर्ण रुपमा निषेधाज्ञा हटाउन नसकिने डिसीसीएमसी सदस्यहरुले राय राखेका थिए ।
पसलहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र पसल खोल्नु पर्ने हुन्छ । अनुगमनमा जाँदा मापदण्ड फेला नपरेको खण्डमा कारबाही गरिने प्रजिअ तिमिल्सनाले बताए । त्यस्तै सवारीसाधनको हकमा सबै यातायात खुलाउने निर्णय गरिएको जनाइएको छ ।