
काठमाडौं,२५ साउन । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । यसअघि नेपाल र माल्दिभ्सले प्रतियोगिता गर्न प्रस्ताव गरेका थिए । दक्षिण एसियाली फुटबल महासंघ (साफ ) ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३ औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेलने पक्का भइसकेको छ । भुटानले तीन दिनपछि निर्णय गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताका लागि नेपालले पनि दावेदारी प्रस्तुत गरेको थियो ।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो । नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो । अब साफ भने माल्दिभ्समा हुने भएको छ ।