
झिलझिले, १२ साउन । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न झापाको शिवसताक्षी नगरपालिकामा आजदेखि एक हप्ता निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन मंगलबार नगरका सडकमा चहलपहल घटेको छ भने सडक क्षेत्रका पसलहरू खुलेका छैनन् । चोक–चोकमा बसेर नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । निषेधाज्ञा कडाइका साथ लागु गर्न नगरभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।
सडकमा गुडेका सवारी नियमन र अनुगमन र निषेधाज्ञा कडाइका साथ लागु गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । निषेधाज्ञा पालना गराउनकै लागि नगर क्षेत्रमा २ सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
औषधी तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक हिँडडुलमा रोक लगाइएको छ । नगरक्षेत्रका मंगलबारे, पाराबारी, शिवगञ्ज, बोलोचोक, जनता बजार पनि ठप्प छन् । भित्री सडकमा साइकल मोटर साइकलमा सर्वसाधारण हिनडुल गरिरहेका छन् । स्थानीयबासीले नगरका जनप्रतिनिधिसंग निषेधाज्ञाको अनुगमन गर्न आग्रह गरेका छन ।