१२ र १३ गते कोरोनाविरूद्धको भेरोसिल खोप लगाइने


पथरिशनिश्चरे, १० साउन ।
पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकाले आउने १२ र १३ गते जेष्ठ नागरिक र अग्रपंक्तिमा रहेर काम गरिरहेकालाई कोरोनाविरूद्धको भेरोसिल खोप लगाउने भएको छ ।
आइतबार एक सूचना प्रकाशित गर्दै नगरपालिकाको कार्यालयले भिन्ना भिन्नै ३ स्वास्थ्य चौकीबाट १७ हजार डोज खोप लगाईने जानकारी दिइएको हो ।
१२ र १३ गते वडा नं १,२, र ७ का नागरिकका लागि नगर अस्पताल, वडा नं ५ र ६ का नागरिकलाई हसन्दह स्वास्थ्य चौकी र वडा नं ४,८,९ र १० का नागरिकलाई शनिश्चरे स्वास्थ्य चौकीमा खोप दिइने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताएका छन् ।
नगरभित्रका ५५ वर्ष र सोभन्दा माथिका पहिलो मात्रा यस अघि नलगाएका सबै जेष्ठ नागरिक, स्कुल तथा कलेजमा कार्यरत प्राध्यापक,शिक्षक,र कर्मचारीलाई उक्त खोप उपलब्ध गराईने छ भने सार्वजनिक यातायातका चालक र सहचालकलले पनि उक्त खोप लगाउन पाउने भएका छन् । यसैगरी, सरकारले तोकेको अति आवश्यक सेवामा सम्लग्न भैं खोप लगाउन बाँकी व्यक्तिहरु र वैदेशिक रोजगारीमा जाने नेपालीलाई भेरोसिल खोप लगाइने भएको हो।
आफ्नो परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा, सवारी चालक अनुमतिपत्र वा कुनै कार्यलयले जारी गरेको परिचयपत्र अनिवार्य रुपमा लिएर आउन भनिएको छ भने वैदेशिक रोजगारीमा जान लागेका नेपालीहरुले पासपोर्ट वा भिसा पत्र साथै ल्याउन अनुरोध गरिएको छ ।
त्यस्तै, पथरिशनिश्चरे नगरपालिकाभित्रका ५ सय १३ जनाले गत शनिबार सम्ममा कोरोना भाइरसलाई जितेर निको भएका छन् । ३०७ महिला सहित कूल ६ सय ९ जना संक्रमित मध्यें १८ जनाले भने अल्पायुमै ज्यान गुमाएका छन्। आइतबार विहान मात्रै नगर अस्पतालमा १सय ८ जनाको स्वाव संकलन गरि प्रदेश प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा सोमबार जारी स्वास्थ्य बुलेटिन अनुसार गत १० गतेसम्ममा मोरङ जिल्लामा १९ हजार ४सय २८ जनामध्ये १४हजार ९ सय ३० जनाले उपचार सेवा लिइ पूर्ण रुपमा स्वस्थ भएका छन् । जिल्लामा गत २४ घण्टाभित्र मात्रै ७९ महिला र ८६ पूरूषसहित १ सय ६५ नयाँ संक्रमित थपिएका हुन्।
संक्रमितको संख्या पनि बढ्दै
जिल्लामा निषेधाज्ञा केही खुकुलो भएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार सोमबार मात्रै सून्दर हरैंचा नगरपालिकामा २२ महिला तथा २७ पुरुष गरी जम्मा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उक्त नगरपालिकामा संक्रमित हुने दर सबैभन्दा बढी हो भने मृत्यु हुनेको संख्या पनि बढेर ३७ पुगेको छ ।
यसैगरी, विराटनगर महानगरपालिकाभित्र २६ पुरूष सहित जम्मा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हाल सम्ममा जम्मा१ सय ५१ ले ज्यान गुमाएका हुन्। त्यस्तै, उतारी मोरङ जिल्लाको केराबारी गाउँ पालिका र लेटाङ्ग नगरपालिकामा संक्रमित हुने दर घटेको छैन। केराबारीमा सोमबार १६ महिला सहित कूल २१ जना नयाँ संक्रमित थपिएका छन् भने लेटाङ्ग नगरपालिकामा ११ पूरूष र १० महिला गरि २१ थपिएका छन् ।

Leave a Reply

Your email address will not be published.