दमक,९ साउन । नेपाली कांग्रेस कमल गाउँपालिकाको सभापतिमा चार जनाले आकांक्षी देखाएका छन् । गाउँपालिकाको सभापतिका लागि वर्तमान सभापति खगेन भण्डारी, साविक लखनपुरका सभापति राजकुमार न्यौपाने, प्रमोदकुमार दाहाल र बुद्धि न्यौपानेले आफनो उम्मेदवारी घोषणा गरिसकेका छन् । साविक तोपागाछी गाविसका सभापति भण्डारी सर्वसम्मत नेतृत्व पाए एकपटक दोहोरयाँउने दाउमा छन् ।
गाविस समायोजन पछि कमल कांग्रेसको जिम्मेवारी सम्हालिआएका र बाकी काम पूरा गर्न पनि आफूले नेतृत्वमा दावी गरेको बताए ।
कमल ५ निवासी राजकुमार न्यौपाने तरुण दल झापाका उपसभापति तथा युवा माँझ लोकप्रिय मानिन्छन् । कमलमा कांग्रेसका शाख राख्न र पार्टी संगठन बलियो बनाउन आफूले काम गर्ने उनको प्रतिवद्धता छ ।
यता दाहाल कांग्रेसका पूराना राजनीतिक योद्धा पूर्णानन्द शर्माका छोरा हुन् । पार्टीमा लामो समयदेखि काम गरिआएका उनी पनि पार्टी मजवुत बनाउन आफनो उम्मेदवारी भएको तर्क गर्छन् ।
उता साविक तोपगाछीका सभापति बुद्धि न्यौपाने कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला नजिकका मानिन्छन् । सिटौला उपप्रधान तथा गृहमन्त्री भएका वेला उनी स्वकीय सचिव थिए । उनी जेपी फाउण्डेशन झापाका अध्यक्ष हुन् । उनले पनि पार्टी बलियो बनाउन आफूले नेतृत्वमा दावी गरेको सुनाए ।
साविक लखनपुर र तोपागाछी गाविसलाई गाभेर कमल गाउँपालिका बनाएपछि पहिलोपटक हुन लागेको पार्टी अधिबेशनमा पार्टी नेतृत्व लिन चारैजना यतिखेर कार्यकर्ता भेटघाट तथा नेताहरुसंग लविङ गर्न थालेका छन् । ७ वटा वडा रहेको कमलमा हाल १३३७ जना क्रियाशील सदस्य छन् ।