भूमिको लगत प्रविष्ट गर्दै नापी कार्य थालिने

पथरीशनिश्चरे , ८ साउन । पूर्वी मोरङको पथरीशनिश्चरेस्थित ‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ ले भूमिको लगत प्रविष्टिकरण गर्दै नापी कार्य अघि बढाउने भएको छ ।
विहीबार बसेको नगर कार्यपालिकाको बैठकले साउन र भदौमा लगतको बाँकी प्रविष्टिकरण गर्ने काम सम्पन्न गरिसक्ने र प्रविष्टिकरण भएका वडाको तत्कालै नापी कार्य समेत अघि बढाउने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताएका छन् । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले भरिएका फारमको कम्प्युटरमा लगत प्रविष्टिकरण सकिएका वडाको ७ दिने सूचना प्रकाशित गरेर नापी कार्य थाल्ने निर्णय भएको बताइएको छ ।
नगर कार्यालयस्थित रहेको आयोगको इकाई प्रमुख ताराप्रसाद ढकालले बैठकका क्रममा हालसम्म आयोगको कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रू ढकालले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको ३ हजार ५ सय ६८ र अव्यवस्थित बसोबास गर्नेहरूको ६ हजार २ सय २५ घर परिवारको गरी कुल ९ हजार ७ सय ९३ वटा फारममा लगत संकलन भएको बैठकलाई जानकारी गराएका थिए । तिमध्यें वडा नम्बर १, २ र ३ को लगत प्रविष्टिकरण सम्पन्न भैसकेको छ भने ४ नम्बरको आधाजति प्रविष्टिकरण हुँदा हालसम्म ५ हजार संख्याको फारम कम्प्युटरमा प्रविष्टिकरण भएको जनाइएको हो । गत असार २१ गते आयोगको जिल्लाले राखेको बैठकको निर्देशन अनुसार इकाईले निर्माण गरेको असारदेखि भदौसम्मको ४ महिने योजना समेत उनले प्रस्तुत गरेका थिए । पथरीशनिश्चरेमा नापीका लागि उपकरणको समेत नगरपालिकाले व्यवस्थापन गरेको छ ।
बैठकले, नगरको सहकारी संस्था एकीकरण कार्यविधि र बालीविज्ञान विषय अध्यापन सुरु गरेको भागिरथ माविको शैक्षिक ऋणका रुपमा घुम्ती कोष सञ्चालन निर्देशिका पारित गरेको छ । कक्षा ११ र १२ मा सञ्चालित बाली तथा बागबानी विज्ञान विषय अध्ययन गर्न चाहने नगरभित्रका जो कोहि विद्यार्थीलाई नगरपालिकाले ५० प्रतिशत शैक्षिक ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.