झापा,१५ पुस । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाएका छन् ।
थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् । अर्याल देउवा पक्षका हुन । कांग्रेस प्रदेश सभापति समेत रहेका नेता थापा प्रदेश सभामा समानुपातिक सूचिमा निर्वाचित भएका हुन् ।निर्वाचन सम्पन्न गर्न कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजङ्ग रायमाझीको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचित दलका नेता थापाले प्रदेश नं १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राखे । उनले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने उल्लेख गरे ।