आज तमु ल्होसार, सार्वजनिक बिदा

झापा,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ। कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन्।कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ।

राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरिएको छ।
यसैगरि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।
ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताए ।

Leave a Reply

Your email address will not be published.