दमक, १३ पुस । दमक उद्योग वाणिज्य संघले पत्रकार बिमल लामिछानेसहित एक दर्जन विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।संघको ३२ औं बार्षिक साधारणसभाका अवसर पारेर आज पत्रकार लामिछानेसहित उद्योग,व्यवसाय, खेलकुद, लगायतका क्षेत्रमा योगदान पुरयाँउने अग्रजलाई सम्मान गरेको हो ।
लामिछानेलाई बर्सेनी साधारणसभामा प्रदान गरिआएको पत्रकारिता पुरस्कार प्रदान गरियो भने संघमा योगदान पुरयाँउने पूर्व उपाध्यक्ष डा. दिनानाथ साह, पूर्व सदस्यहरु विश्वनाथ बराल,यशोदा भट्टराई, रामासिष साह, मदन अधिकारी, प्रकाश बुढाथोकीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरि, शारीरिक शुगठनका खेलाडी विशाल पौडेल, तेक्वान्दोका रोशन मगरले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएकोमा समेत सम्मान प्रदान गरिएको थियो । उनीहरुलाई दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, संघका दमक अध्यक्ष गोपाल गुरागाई लगायतले सम्मान प्रदान गरेका थिए ।
सो अवसरमा संघले यहि माघ २५ गतेदेखि फागुन ६ गतेसम्म आयोजना हुने पाँचौ दमक महोत्सवको पोष्टर समेत सार्वजनिक गरिएको थियो । सभामा संघका अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन समेत पारित गरिएको साधारणसभा तयारी समितिका संयोजक समेत रहेका वरिष्ठ उपाध्यक्ष राजु खड्काले बताए ।
ब्यवसायीका समस्या समाधान नभएको गुनासो
मुलुक संघीयतामा गएपनि ब्यवसायीका समस्या समाधान गर्न तीनै तहका सरकार गम्भिर नभएको ब्यवसायीहरुले गुनासो गरेका छन् । दमक उद्योग वाणिज्य संघ दमकको ३२ औं साधारण सभामा बोल्दै उनीहरुको व्यवसायिक वृद्धि विकासमा राज्यले प्राथमिकता नदिएको गुनासो गरे ।
सभामा बोल्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले समग्र नगरको विकासमा नगरमा आबद्ध सामाजिक संघ संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने– ‘नगरको समग्र विकासमा एक्लो प्रयासबाट सम्भव छैन, तपाई आम नगरबासी र संघ संस्थाको सक्रिय भूमिका आवश्यक छ ।’
कार्यक्रम विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले मुलुकमा बढ्दो बैंकिङ असहजता र तरलताको कारण ब्यवसायहरु मारमा परेको बताए । यसैगरी अर्का केन्दीय सदस्य उमेश डालमियाले धेरै युवाहरु रोजगारीमा विदेसिएको र युवा विदेसिँदा ब्यापारमा प्रत्यक्ष असर पुग्नु चिन्ताको विषय भएको टिप्पणी गरे ।
कार्यक्रममा कर कार्यालय दमकका अधिकृत लक्ष्मण कार्कीले ब्यवसायीको करबाट मुलुक चलेकाले समयमा कर तिर्नु ब्यवसायीको इमान्दारिता र कर्तब्यपनि भएको बताए ।
दमक बहुमुखी क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति सदस्य ऋषि तिम्सिनाले अप्ठ्यारो अवस्थामा उद्योगी ब्यवसायीका समस्या तीनै तहका सरकारले गम्भिरताका साथ लिन सक्ने हो भने समस्या केही हदसम्म हल गर्न सहज हुने विचार ब्यक्त गरे ।