दमक,१३ पुस। पुस मसान्तमा काम सक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द ) सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।
कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र सरोकारवाला निकायबीच सहमति भएको हो । पहिलो खण्ड आगामी वैशाखसम्ममा काम सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ ।
सरकारले समयमा भुक्तानी नदिएका बीचमा काम अलपत्र छोडिएको निर्माण कम्पनीले दाबी गर्दै आएको छ । सडक अलपत्र बन्ने अवस्था आएपछि इलामका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मीलगायत स्थानीयले सडकको स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनपछि सडक निर्माणमा आइलाग्ने समस्या समाधानमा स्थानीय राजनीतिक दल तथा सरोकारवाला निकायले बाटो खोलिदिने सहमति भएसँगै काम अगाडि बढाइने निर्माण कम्पनीका सञ्चालक तुलसीराम भण्डारीले बताए। सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै काम सुरु गर्ने प्रतिबद्धता जनाएका स्थानीयले बताएका छन् ।
सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर सुधीरकुमार झाले पटक-पटक ताकेता गरिएको बताउँदै विद्यामान समस्या समाधान गरी काम अगाडि बढाउने सहमति भएसँगै कामले गति लिने जनाए । अब पनि काम गराउन कार्यालय लागिपर्ने उनको भनाइ थियो । निर्माण कम्पनीका प्रतिनिधि मिलन राईले सरकारको नीतिका कारण व्यवसायीलाई समस्यामा भएको बताए । गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको उनको भनाइ थियो ।
अब वैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने उनको दाबी थियो । पहिलो चरणको कोभिड(१९ का कारण काम गर्न समस्या भएको भन्दै राईले त्यसपछि काम थाल्न खोज्दा दोस्रो चरणको कोभिड सुरु भएपछि काम रोकिएको बताए । मजदुरको दिन बाँकी रहेको रकमसमेत भुक्तानी गर्ने र तत्काल काम थाल्ने उनको भनाइ थियो । माथिल्लो दुई खण्ड निर्माणको जिम्मा लिएको लुम्बिनी(गणपति जेभीले एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
निर्माण कम्पनीका सञ्चालक भण्डारीले दुई खण्डको काम एक वर्षभित्रमा सम्पन्न गर्ने जानकारी दिए। स्थलगत अनुगमनपछि सडक निर्माणले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । उहाँले दुवै निर्माण कम्पनीले कामसक्ने प्रतिबद्धता जनाएको जानकारी दिए। जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले थप भएको समयमा काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले स्थानीयको दबाबसमेत उत्तिकै आवश्यक रहेको भन्दै अनुगमनमा आफू निरन्तर लाग्ने बताए ।
जिल्लास्थित नेकपा एमालेका उपाध्यक्ष उदय राईले सडक निर्माणमा ठेकेदार पक्ष बढी जिम्मेवार हुनुपर्ने बताए। उनले कुनै पनि बहानामा सडक निर्माण रोक्न नहुने धारणा राखे। नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले लामो समयसम्म सडक निर्माणले गति लिन नसक्दा स्थानीयलाई प्रत्यक्ष असर पुगेको बताए । स्थानीयको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष जोडिएको सडक निर्माणमा आफूहरूले निरन्तर निगरानी गर्नेसमेत उनको भनाइ थियो । सडक निर्माण गर्न ठेकेदार कम्पनी तथा सम्बन्धित पक्षले चासो बढाउनुपर्ने उनले बताए ।
फाल्गुनन्द सडक नामकरण गरिएको सो सडक दमकदेखि चिसापानीसम्मको दूरी ३३ किलोमिटर छ । कालोपत्रका लागि लागेको ठेक्काको समय चार पटकसम्म थप हुँदा समेत निर्माण हुन सकेको छैन । पहिलो खण्ड मानिएको दमकदेखि साढे छ किलोमिटर महालक्ष्मी(किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०७५ साउन अन्तिममा सम्झौता गरेको थियो ।दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किमी सडक निर्माणको ठेक्का लुम्बिनी-गणपति जेभीले पाएको छ ।
सो सडकखण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । सडकमा धेरैजसो ठाउँमा नाली निर्माण र ग्याभिङ वालको काम भने सम्पन्न भइसकेको छ ।