दमक,१० पुस । दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लिएर नेपाली कांग्रेस निकट व्यवसायीहरुको संस्था लोकतान्त्रिक व्यवसायी संघले व्यवसायीहरुसंग छलफल थालेको छ ।
निर्वाचनमा आफना पक्षमा जनमत जुटाउन तथा वाणिज्य संघको नयाँ नेतृत्वलाई सर्वसम्मत चयन गर्ने उद्देश्यले छलफल थालिएको संघका अध्यक्ष बबरजंग थापा (किरण ) ले जानकारी दिए ।
पार्टी कार्यालयमा शनिवार भएको छलफलमा व्यवसायीका अगुवा तथा पार्टी नेतृत्वले वाणिज्य संघलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न आवश्यक भएको औल्याएका थिए । उनीहरुले ठुलो पार्टीका रुपमा कांग्रेसलाई हालैको निर्वाचनमार्फत जनताले म्याण्डेट दिएकाले पनि वाणिज्य संघको नेतृत्व लोकतान्त्रिक व्यवसायीले लिनु पर्नेमा जोड दिए ।
छलफलमा कांग्रेसका जिल्ला उपसभापति शेरवहादुर भट्टराई, महाधिबेशन प्रतिनिधि शुरेस सुब्बा,कांग्रेस प्रदेश सभा (२ )का सभापति रवि न्यौपाने, पूर्व दमक नगर सभापति रोशन विष्ट , दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आआफना विचार राखेका थिए ।
वाणिज्य संघको ३१ औं बार्षिक साधारणसभा हुदै छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा हुने साधारणसभाले निर्वाचनको मिति तय गर्ने जनाईएको छ । निर्वाचनमा एमाले निकट व्यवसायीका तर्फबाट बिमल खतिवडा र गोपाल गुरागाईको नाम बाहिर आएको छ । संघको गत निर्वाचनमा खतिवडा हालका अध्यक्ष श्रेष्ठसंग पराजित भएका थिए । गुरागाई भने हालका वरिष्ठ उपाध्यक्ष हुन् ।
कांग्रेसबाट भने अध्यक्षको नाम बाहिर आएको छैन् । कांग्रेसका एक नेताले वाणिज्य संघको नेतृत्वका लागि पार्टी भित्रका धेरै व्यवसायीहरु तयार भएको दावी गरेमका छन् ।