कमलका किसानहरु तोरीमा आत्मनिर्भर बन्दै

दमक ,९ पुस । कृषिलाई प्राथमिकता राखेर यस बर्षदेखि अध्यक्षसंग कृषक कार्यक्रम ल्याएको झापाको कमल गाउँपालिकाले तोरी खेतीमा किसानहरुको आकर्षण बढाएको छ । बजारमा अघिल्लो बर्ष तोरी र तोरीबाट उत्पादित तेलको मूल्य अचाक्ली बढेको थियो ।
बजारमा तोरीको मूल्य आकाशिएको र आफनै बारीमा उत्पादन भएको तोरीको खानेतेल स्वास्थ्यका दृष्टिकोणबाट समेत स्वस्थ्यकर हुने भएकाले गाउँपालिकालाई तोरी तेलमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम कार्यान्वयन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कृषि शाखा प्राविधिक प्रेम पोखरेलले यस बर्ष गाउँपालिकाले किसानलाई तोरी खेतीमा आकर्षित गर्न कम्तीमा हरेक वडाको एक ÷एक टोलमा उन्नती र मोरङ २ प्रजातिको तोरीको बिउ उपलब्ध गराइएको जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले पालिकाको ७ वटै वडामा कूल ४ सय केजी बीउ तोरी अनुदानमा उपलब्ध गराएपछि किसानले लगाएको तोरी खेती अहिले लोभलाग्दो देखिएको हो । पोखरेलका अनुसार यो बर्ष कमल गाउँपालिकाका सबै वडा मध्ये वडा नं १ मा सबैभन्दा धेरै खेती गरिएको छ । यो वर्ष सबै वडामा गरि करिव ५ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको उनले जानकारी दिए ।
तोरी फुलेको दृश्यले अहिले कमल गाउँपालिका क्षेत्रनै आकर्षक देखिएको छ । बाटो हिंडनेहरु कैंयौंले आफनो मोबाइलमा तोरी फुलेको दृश्य फोटो कैद गर्न भ्याउने गरेको कमल २ का वडाअध्यक्ष अशोक लिम्बूले बताए ।
कृषि प्राविधिक पोखरेलका अनुसार तोरी खेतीतर्फ किसानलाई व्यवसायिक रुपमा आर्कषण गराउन वडा–वडाबाट एक-एक वटा टोललाई छनौट गरेर ७ केजीका दरले बीउ तोरी उपलब्ध गरिएको छ । अनुदानमा तोरीको वीउँ पाएपछि किसानले नगदे बालीका रुपमा विस्तारै यो खेती गर्न थालेको उनको भनाई छ ।
सवै वडाका घरैपिच्छे तोरी खेती गर्न थालिएपछि घरायसी उपभोगमात्र नभएर धेरै भएका तोरी विक्री गरेर आम्दानी लिन समेत थालेको हुन् ।गाउँपालिकाबाट मूल बिउ तोरी लिएर खेती लगाएका किसान सुरेन्द्र राय यसबर्ष तोरी खेतीको उत्पादन राम्रो हुने आशा गरेको बताउँछन् ।
गाउँपालिकाले यस पटक वितरण गरेको बीउ तोरीको उत्पादन अर्को बर्ष बीउका रुपमा अन्य किसानहरुले पनि खेतीका रुपमा लगाएका छन् , यसले अर्को बर्ष कमलमा अझै तोरी खेती बढने अनुमान कृषि शाखाको छ । कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले कमलका किसानहरु विस्तारै तेलहनका लागि तोरीको व्यवसायिक खेतीतर्फ आर्कषित हुदै गएको बताउँछन् । तोरी खेती हराईसकेको तथा किनेर खादैआएका तेलको उपभोग्य दृष्टिले स्वस्थ्यकर समेत नहुने हुदाँ तेलका लागि भएपनि कमलका किसानहरुलाई आत्मनिर्भर बनाउन तोरी खेती प्रवद्र्धनमा जोड दिएको उनको भनाई छ ।
गत बर्ष बजारमा तोरीको मूल्य प्रतिमन रु ७ हजार रुपैयाँसम्म पुगेको थियो । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले कमल गाउँपालिकालाई तोरी खेतीतर्फ आत्मनिर्भर बनाउन यसको व्यवसायिक खेतीमा सहयोग पुरयाँउदैआएको बताए । उनले भने, –‘सबैलाई तोरी खेतीमा आकर्षित गरेर तोरीको तेलमा गाउँपालिकालाई मात्रै होइन,तेलहनको आयातलाई समेत प्रतिस्थापन गर्न पनि यसले मद्धत पुरयाँउने विश्वास गरेका छौ।’

Leave a Reply

Your email address will not be published.