बिर्तामोड, ७ पुस । किरात याक्थुङ चुम्लुङ झापाले यसवर्ष नरेन्द्र – कमला स्मृति साहित्य पुरस्कार अग्रज श्रष्टा सेसेमी सेनाल्बोलाई प्रदान गरेको छ । विर्तामोडस्थित चुम्लुङहिममा बुधबार जग्गादाता स्वः नरेन्द्र बहादुर आङ्बुहाङको ९५औं जन्मजयन्तीका अवसर पारेर दमक निवासी साहित्यकार सेनाल्बोलाई नगद,सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । भाषिक साहित्य तथा पत्रकारिता क्षेत्रमा सक्रिय नाल्वो लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा लुङ्गा मासिक पत्रिकाका सम्पादक तथा प्रकाशक हुन् ।
चुम्लुङका संघीय सल्लाहकार जीत बहादुर लाओतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गादाता स्वः आङ्बुहाङको जीवनीवारे चर्चा गरिएको थियो ।
स्वः आङ्बुहाङ्ले चुम्लुङ कार्यालय निर्माण गर्न विर्तामोड- १ स्थित सिरिजङगा चोकमा १ कट्ठा ७ धुर जग्गा प्रदान गरेका थिए । जहाँ अहिले किरात याक्थुङ् चुम्लुङ झापाको कार्यालय भवन सञ्चालन हुदै आएको छ । शिक्षा तथा लिम्बू भाषा संरक्षणमा योगदान पुरयाँएका उनी तत्कालिन ताप्लेजङ जिल्ला हाङ्पाङ गाउँ पञ्चायतका प्रधानपञ्च समेत हुन् ।
कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमककी प्राज्ञ रचना लाओतीले पुरस्कृत व्यक्तित्वको जीवनी माथि चर्चा गरेकी थिइन् भने कियाचु केन्द्रीय सदस्यद्धय अमृत योङ्हाङ, डा.भीम सुब्बा, कियाचु लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु राष्ट्रिय चुम्लुङ सदस्यद्धय गुमान सिहं सम्बाहाङ्फे, शिव मेन्याङ्बो,सम्मानित नाल्वो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कियाचु जिल्ला उपाध्यक्ष काली बहादुर खेवाङले राखेका थिए भने सञ्चालन शाखा सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।