कोशीबाट कांग्रेसले ग¥यो ४५४ जनाको नाम सिफारिस

झापा,६, पुस । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको २७ निर्वाचन क्षेत्र र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभाका ३ उम्मेदवारका लागि कांग्रेसले कोशी प्रदेशबाट ४५४ जनाको नाम सिफारिस गरेको छ ।
२८ वटा निर्वाचन क्षेत्र रहेको यस प्रदेशबाट खोटाङबाहेक सबै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी ठुलो संख्यामा आकाङ्क्षीहरूको नाम केन्द्रमा सिफारिस गरिएको हो ।
कांग्रेस कोशी प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइरालाका अनुसार प्रदेश समितिले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका लागि गरी जम्मा ४५४ जना उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको हो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले प्रदेशका सबैजसो जिल्लाहरूबाट आएका नामावलीलाई एकीकृत गरी केन्द्रमा पठाएको हो । जसमा राष्ट्रिय सभातर्फ १३१ जना र प्रतिनिधिसभातर्फ ३२३ जना आकाङ्क्षीहरूको नाम समावेश गरिएको छ ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि आउँदो माघ ११ गते चुनावको मिति तोकिएको छ । मनोनीत सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि हुने निर्वाचनका क्रममा कोशी प्रदेशका लागि ३ जनाको मात्रै निर्वाचित हुनेछ । पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, तीन जना राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले भने अन्य विधाका लागि ८७ जना, महिलातर्फ २८ जना र दलिततर्फ १६ जना गरी कुल १३१ जनाको नाम सिफारिसमा गरेको हो ।

यस्तै प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी प्रदेशको खोटाङ निर्वाचन क्षेत्रबाहेक २७ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ११५ जना सिफारिसमा परेका छन् । यस्तै खोटाङ र तेह्रथुमको निर्वाचन क्षेत्र बाहेकबाट समानुपातिकतर्फ २०८ जनाको नाम सिफारिस गरिएको छ ।
झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस भएको छ । शर्माको क्षेत्रबाट समानुपातिकतर्फ भने ६ जनाको नाम पठाइएको छ । झापाका अन्य क्षेत्रहरूको हकमा क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १०, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा ८ र समानुपातिकमा १०, क्षेत्र नं. ४ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा ५ तथा क्षेत्र नं. ५ बाट प्रत्यक्षमा ७ र समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ ।
यसैगरी मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरूबाट पनि उम्मेदवारहरूको बाक्लो सूची तयार पारिएको छ । मोरङ क्षेत्र नं. १ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ६, क्षेत्र नं. ४ बाट प्रत्यक्षमा ५ र समानुपातिकमा १०, क्षेत्र नं. ५ बाट प्रत्यक्षमा ४ र समानुपातिकमा ७ र क्षेत्र नं. ६ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ७ जनाको नाम सिफारिस गरिएको मुख्य सचिव कोइरालाले जानकारी दिए ।
सुनसरी जिल्लाका चारवटा क्षेत्रहरूबाट पनि उल्लेख्य संख्यामा आकांक्षीहरू देखिएका छन् । सुनसरी क्षेत्र नं. १ बाट प्रत्यक्षमा ६ र समानुपातिकमा १५, क्षेत्र नं. २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १५, क्षेत्र नं. ३ बाट प्रत्यक्षमा २ र समानुपातिकमा २० र क्षेत्र नं. ४ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ९ जनाको नाम सिफारिसमा परेको छ ।

Leave a Reply

Your email address will not be published.