अंशु गौतम हत्या प्रकरणः आरोपीको परिवार गाउँबाट विस्थापित

मोरङ ,२ पुस । मोरङको लेटाङ नगरपालिकाकी १२ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा पक्राउ परेका पदमबहादुर अधिकारीको परिवार विस्थापित भएको छ ।
प्रहरीले केही दिनअघि गौतमको बलात्कार र हत्या आरोपमा ५९ वर्षीय अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेयता उनको परिवारको गाँउबाटै उठिबास भएको छ ।
मंसिर १८ गते प्रहरीले पक्राउ गरी सार्वजनिक गरेपछि आक्रोशित भीडको आक्रमण, घरमा गरिएको तोडफोड र निरन्तर असुरक्षाको अनुभूतिपछि पदमबहादुरको परिवार विस्थापित भएको हो ।

प्रहरी हिरासतमा रहेका अधिकारीलाई प्रहरीले कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ । उनी अनुसन्धानको दायरामा आएसँगै लेटाङस्थित उनको घरमा आक्रोशित भीडले २१ गते साँझ आक्रमण र तोडफोड गरेको वडा नम्बर २ का अध्यक्ष तेजप्रसाद तिम्सिनाले जानकारी दिए। उनका अनुसार आक्रमणबाट घरमा क्षति पुगेको छ । घटनापछि अधिकारीका श्रीमती, ३ छोरी र १ छोरा गाउँ छाड्न बाँध्य भएका हुन् ।

उनका छोरा यसअघि जबरजस्ती करणी आशयको मुद्दामा दोषी ठहर भएका थिए । उनी कैद सजाय भुक्तान गरी कार्तिक १८ गते कारागारमुक्त भएका हुन्।अधिकारीकी माइली छोरी भन्छिन्, ‘घटना सार्वजनिक भएपछि गाँउले घरमा तोडफोड गरिदिए। अब घरमा बस्न सक्ने वातावरण छैन् । तोडफोड हुँदा घरभित्र रहेको लत्ता कपडासमेत निकाल्न सकेनौँ। केही सानो जमिनमा खेती छ, तर जान सकिएको छैन् ।’ लेटाङबाट विस्थापित भएकी आमा भने सुन्दरहरैँचाको खोर्सानेस्थित छोरीको घरमा पुगेकी छन् ।

Leave a Reply

Your email address will not be published.