दमकमा लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुरु

दमक ,२६ मंसिर । दमक नगरपालिकाले लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुरु गरेको छ ।प्रहरीमार्फत लागू औषध प्रयोगकर्ताहरुको पहिचान र नियन्त्रण गरी विपन्न परिवारकालाई उपचार गराउने र पाँच वर्षमा लागूऔषध मुक्त तथा स्वस्थ्य युवामैत्री नगर बनाउने अभियान स्वरुप अभियान शुरु गरिएको हो ।अभियानको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरे ।
लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान दमकबाट सुरु भएको र यो प्रदेशभर आवश्यक भएको मुख्यमन्त्रीको भनाइ थियो ।संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा हामी सधैँ तत्पर रहनुपर्छ र कोशी प्रदेश सरकार यसमा तत्पर छ’’, उनको भनाई थियो ।
उनले लागूऔषध प्रयोगकर्ताहरुलाई समाजमा पुर्नस्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेकोमा पनि उल्लेख गरे । उनले भने ,“आमाबुवाले छोराछोरीले घर बाहिर के गर्दैछ भन्ने हेक्का राख्ने बेला आइसकेको छ । बालबालिकालाई राम्रो संस्कार दिन सकेनौं भने जस्तोसुकै राम्रो अंकको शैक्षिक प्रमाणपत्रको पनि काम हुँदैन ।”
मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सामुदायिक ठाउँहरुमा अहिले बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पति छोराछोरीलाई दिने तर संस्कार नदिने समाजको विकास हुनु चिन्ताको विषय भएको बताए । “त्यसैले बालबालिकालाई सामाजिक शिक्षा दिनु आवश्यक छ । शिक्षाको परिभाषा कितावी ज्ञानले मात्रै हुँदैन । त्यसैले सभ्य नागरिक बनाउनु प्रत्येक आमाबुवाको नैतिक दायित्व हो,” मुख्यमन्त्री कार्कीले भने ।मानवीय विकासमा सरकारले ध्यान दिने र सोहीअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने कार्कीले बताए ।
दमक नगरपालिकाका मेयर रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नगरपालिकाले शुरु गरेको यो महाअभियानमा कोशी प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिइन । उनले भनिन,“नगरपालिकाको ५ लाख लागत छ । अहिले तथ्यांकले पनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ ।” नगरस्तरी र वडास्तरीय कार्यक्रम सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् । दमकमा सुधार गृह निर्माण गर्ने लक्ष्य लिएर कार्यक्रम शुभारम्भ भएको बताइएको छ ।
एकजना लागूऔषधका पूर्व प्रयोगकर्ता पशुपति फागोले नशा कै लागि बाँच्ने र बाँच्न कै लागि नशा गर्ने अवस्था भएपछि आफ्नो अंशको सम्पति पनि परिवारबाट लिएर सकेको सुनाए । “अन्त्यमा शून्यमा पुगेपछि नगरपालिकाको सहायतामा आफ्नो जिन्दगी सुधारका लागि सुधार केन्द्रमा गएर सुधार भएर आएँ,” उनले भने,“अहिले टोलटोलमा समिति बनाएर लागूऔषध विरूद्धको अभियानमा लागेको छु ।”
कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले कार्यक्रमहरू तामझामका साथ खर्च गर्ने तर बजेटको सदुपयोग नहुने र लक्षितवर्गले लाभ प्राप्त गर्न नसके त्यसको औचित्य नहुने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.