दमकमा लैंङ्गिक हिंसा विरुद्धको अभियान समापन

दमक,२५ मंसिर । दमक नगरपालिकामा सञ्चालित ३३ औं अन्तराष्ट्रिय लैंङिगक हिंसा बिरुद्धको १६ दिने अभियान आज औपचारिक रुपमा समापन गरिएको छ ।दमक नगरपालिकाले यहाँ क्रियाशील विभिन्न सामाजिक, व्यवसायिक तथा अधिकारवादी संघ संस्थाहरुसँगको समन्वयमा गएको १० मसिंरदेखि शुरु गरेको अभियान अन्तर्गत गरिएका विभिन्न कार्यक्रमहरुको समीक्षा,अन्तरकृया गरि औपचारिक रुपमा समापन गरेको हो ।
दमक नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको समापन कार्यक्रममा सो अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने दर्जन बढी संघ संस्थाहरु र अधिकारवादी अभियान्ताहरुलाई सम्मान गरिएको थियो ।
नगरपालिकाकी सामाजिक बिकास समितिकी संयोजक शारदा सापकोटाको अध्यक्षता तथा संविधान सभा सदस्य समेत रहेकी महिला नेतृ महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा महिला नेतृत्वले नीति निर्माणको तहमा महिलाहरुको पहुँच बढाउन र सबै किसिमका हिंसाको अन्त्य गरिए मात्र समृद्ध समाज निर्माण हुने जोड दिएका थिए ।
कर्यक्रममा प्रमुख अतिथि लिम्बू, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले लैंगिक समानता र समावेशीतासंगै आर्थिक रुपमा महिलाहरुलाई आत्मनिर्भर बनाउन सकिए मात्रै हरेक क्षेत्रमा उनीहरुको सहभागिता सुनिश्चितताका लागि वातावरण बन्ने औल्याएकी थिइन् ।
कार्यक्रममा प्राध्यापक एवं अधिकारवादी नेतृ राधिका ओझाले समाजमा महिलाहरुमाथि कुनै न कुनै रुपमा सधैं हिंसा हुने गरेको बताउँदै हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला महिलाहरु आफैं मानसिक रुपमा हिंसा विरुद्ध लड्न तयार हुनुपर्ने बताइन् । उनले हिंसा सहने बानीले समाजमा थप महिलाहरु हिंसामा पर्ने भएकाले हिंसा विरुद्ध लड्ने, हिंसा नगर्ने, हिंसा हुन नदिने गरि अगाडी बढ्नु पर्ने सुझाइन् ।
कार्यक्रममा नारी सशक्तिकरण समाजकी अध्यक्ष लता चापागाइँ, अधिकारकर्मी प्राज्ञ सुमित्रा वाङदेल चेलीले हिंसा कसैले कसैमाथि पनि गर्न नहुने र त्यसका लागि सामाजिक चेतनामा लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा नगरपालिकाकी सामाजिक बिकास समितिकी संयोजक सापकोटाले १६ दिने अभियान अन्तर्गत विभिन्न संघसंस्थाहरुले सञ्चालन गरेका कामहरुका बारेमा जानकारी गराएकी थिइन् ।
सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले लैंगिक समावेशीता अन्तर्गत दमक नगरले लिएको नीति, सञ्चालित कार्यक्रमहरु र बजेट आदिका बारेमा आफनो अवधारणा प्रस्तुत गरेका थिए ।
त्यसैगरि, नगरपालिकाको बिकास साझेदार संस्था द एशिया फाउण्डेशनका श्याम सापकोटाले राजनीतिमा महिला सहभागिता बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.