निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा वस्नेत निर्वाचित

झापा ,२२ मंसिर । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन वस्नेत निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार अध्यक्षका प्रत्यासीहरु मौसम थापा र गगन रेग्मीलाई भारी मतान्तरले पराजित गर्दै वस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।
वस्नेतको यो दोस्रो कार्यकाल हुनेछ । उनी मंगलश्री कम्स्ट्रक्सनका सञ्चालक हुन् । मतपरिणाम अनुसार वस्नेतले १३७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी मौसम थापाले ६१ मत प्राप्त गरेका छन् । तेस्रो मत ल्याएका गगन रेग्मीले २८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, तृतीय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईं विजयी भएका छन् । उनले १४३ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामकुमार राईले ८२ मत प्राप्त गरे ।

यसैगरी, महासचिव पदमा पुष्पराज निरौला विजयी बनेका छन् । निरौलाले १४४ मत प्राप्त गर्दा प्रतिस्पर्धी ओम पौडेलले ७९ मत प्राप्त गरे । निरौलाले पौडेलसँग यसअघिको निर्वाचनमा भोगेको पराजयको बदला लिएका छन् । अघिल्लो निर्वाचनमा महासचिव पदमा निरौला पौडेलसँग पराजित भएका थिए । पौडेल तेस्रोपटक महासचिव बन्ने योजनामा थिए । निरौला राज विल्डर्सका सञ्चालक हुन् भने पौडेल दर्पण निर्माण सेवाका सञ्चालक हुन् ।
सचिवमा योगेन्द्र खड्का ११८ मतसहित विजयी भएका छन् । उनले लोकेन्द्र श्रेष्ठलाई १६ मतले पछि पारे । श्रेष्ठको १०२ मत आएको छ । खड्का यसअघि पनि सचिव पदमै थिए ।

यसैगरी, कोषाध्यक्ष पदमा चन्द्र खत्री विजयी भएका छन् । यज्ञनिधि भूर्तेललाई १६ मतले पछि पार्दै खत्री विजयी बनेका हुन् । खत्रीले ११९ मत प्राप्त गर्दा भूर्तेलको पक्षमा १०३ मत झरेको थियो । तीनजनाले उम्मेद्वारी दिएको सहकोषाध्यक्ष पदमा भने दुईजनाको बराबरी मत आएपछि गोलाप्रथाबाट सिताराम ढुंगेल विजयी भएका छन् ।

ढुंगेल र अर्का प्रत्यासी हिमाल सिटौलाको बराबर ७८ मत आएपछि गोलाप्रथामा जानुपरेको निर्वाचन अधिकृत गोपालबहादुर थापाले बताए । अर्का प्रत्यासी सुरेन्द्र धिमालले ६५ मत प्राप्त गरे ।

पदाधिकारीमा प्रथम उपाध्यक्षमा रमेश अधिकारी र द्वितीय उपाध्यक्षमा कुमार उप्रेती निर्विरोध भएका छन् भने महिला सदस्यमा मीनादेवी भट्टराई निर्विरोध भइन् ।

कार्यसमितिमा १० जना सदस्य आवश्यक रहेकोमा १९ जनाको उम्मेद्वारी परेपछि भएको सदस्य पदको निर्वाचनमा जूनतारा कन्स्ट्रक्सनका सञ्चालक राजकुमार राई सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनले १५९ मत प्राप्त गरे । यसैगरी, नयन बराल(१२५), रमेश सेढाई (११६), एंगल गुरुङ (१४३ ), प्रकाशकुमार सिंह (१२६ ), अनिल भट्टराई (१२४ ), गोपालबहादुर वस्नेत (११६), गुणबहादुर अधिकारी (१२५), सुरेश भट्टराई (१२५ ) र चिरनसेन थापा (१३०) विजयी भए ।

सदस्यका प्रत्यासीहरु ज्ञानबहादुर तामाङ, घनश्याम कार्की, गोपाल श्रेष्ठ, प्रविन कटुवाल, रमेश भण्डारी, गोविन्दप्रसाद घिमिरे, बुद्धिमान लिम्बू, मनोजकुमार अधिकारी र गोविन्द कार्की पराजित भए । २७३ मतदाता रहेको संघको निर्वाचनमा २२७ मत खसेको निर्वाचन अधिकृत थापाले बताए ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष वस्नेतले आफ्नो नेतृत्वको कार्यकाल झापाली निर्माण व्यवसायीहरुको हित, क्षमता विकास,संघको सुदिृढीकरण एवम् पहिचान थप उचाईमा पुर्याउने विषयमा समर्पित रहने संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन सम्पन्न भएसँगै प्रतिस्पर्धा सकिएको र सबै झापाली निर्माण व्यवसायीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए ।

यसअघि, मंगलबार संघको १४ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन गरिएको थियो । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहका अवसरमा निर्माण व्यवसायमा लामो समय योगदान पुर्याउने व्यक्तित्वहरु त्था सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.