दमक, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक- ३ स्थित दापगाछीमा निर्माण गरिएको १८ तले ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको व्यापारिक भ्यू टावरकोआइतबार उद्घाटन गरेका छन् ।
यो टावर ओलीकै निर्वाचन क्षेत्रमा पर्ने गृहनगर दमकमा निर्माण गरिएको हो । २०७६ सालमा ओलीले दोस्रो कार्यकालका क्रममा यस टावरको शिलान्यास गरेका थिए । तेस्रो कार्यकालको प्रधानमन्त्री भएकै समयमा उनले देशकै अग्लो भनिएको यो टावरको उद्घाटन गरेका हुन् ।
यो भव्य संरचना निर्माण गर्न १ अर्ब ५६ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । शहरी विकास मन्त्रालयको नेतृत्वमा निर्माण सम्पन्न गरिएको टावरलाई सञ्चालनका लागि निजी कम्पनीहरूसँग सहकार्य गरिने बताइएको छ ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो बिजनेस कम्प्लेक्स चार बिगाह १६ कट्ठा क्षेत्रफलमा बनेको छ। यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँतलासहित १८ वटा तला रहेका छन्। यस परियोजनाको कुल लागत एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ रहेको छ। २०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले लिएका थिए। ‘यो भ्यूटावर नभई आन्तरिक र बाह्य पर्यटकीय भित्राउने झापासहित कोशी प्रदेशकै एउटा ठूलो बिजनेस कम्प्लेक्स हो,’ सचिव सिग्देलले भने, ‘यस कम्प्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट लगायतका भवनहरू निर्माण गरिएको छ।’
कम्प्लेक्सबाहिर बगैँचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाइ छ। सिग्देलका अनुसार टावरको व्यवस्थापनका लागि केही प्रवेश शुल्क राखिनेछ भने सञ्चालनका लागि कम्पनीलाई लिजमा ठेक्का दिन सकिने योजना छ ।