
दमक,२१ मंसिर । कमल ५ पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारीले आफनो ११ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय रोडस्टार पार्टी प्यालेसमा सोमबार एक कार्यक्रम गरि संस्थाले आफनो ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको सचिव सञ्जय कुमालले बताए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष डम्बर वहादुर निरौलाको बिशिष्ट आतिथ्यतामा आयोजित साधारणसभा उद्घाटनमा संस्थाका अध्यक्ष शान्ताकुमार राई सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन , संस्थाका कोषाध्यक्ष रोशन दाहालले आर्थिक प्रतिवेदन र लेखा संयोजक प्रेम प्रसाद दुलालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत तीनै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो । त्यस्तै संस्थाले उत्कृष्ठ कारोवार गर्ने चार दर्जन बढी शेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।
अध्यक्ष राईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाले आर्थिक बर्ष २०७७ ७८ को अवधिमा कुल चुक्ता शेयर पूंजी ३ करोड २५ लाख ३६ हजार ५ सय , निक्षेपमा २७ करोड ८१ लख ९३ हजार ८ सय ८, कर्जा लगानी २५ करोड १८ लाख ८८ हजार ९ सय ७० गरेको उल्लेख छ ।
त्यस्तै सोहि बर्ष संस्थाले ३३ करोड ७० लाख ५४ हजार ४ सय ७४ रुपैया कुल कारोवार गर्न सफल भएको प्रतिवेदनमा जनाईएको छ । कोभिड -१९ को महामारीका बाबजुद सहकारीले गएको बर्ष समग्र कारोबारमा वृद्धि भएको व्यवस्थापक राजु थापाले बताए ।
मुख्य कार्यालयसहित संस्थाले आफनो शेयर सदस्यहरुको सुविधाका लागि गौरादह र कमलको केर्खा बजारमा सेवा केन्द्र सञ्चालनमा रहेको छ । संस्थामा हाल महिला ८६८ र पुरुष ११९९ जना शेयर सदस्य गरि कुल २०६७ जना शेयर सदस्य रहेका छन् ।