
झापा,२१ मंसिर । नेपाली काँग्रेस प्रदेश १ कार्यसमिति सदस्यमा झापा क्षेत्र न. ५ बाट ६ जना विजयी भएका छन् । आज विहान मतगणनाको अन्तिम मतपरिणाम अनुसार कमल ५ निवासी युवा नेता हुकुमसिंह राई सर्बाधिक मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् ।
आदिवासी जनजातिको कोटामा उम्मेदवार बनेका उनले १७८४ खसेको मत मध्ये ८८३ मत ल्याई विजयी भए । राई पार्टीका पूर्व जिल्ला सदस्य तथा गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई गाउँपालिकाको अध्यक्ष पदमा (हालकी अध्यक्ष मेनुका काफ्ले )गोला प्रथाबाट पराजीत नेता हुन् ।यसअघि कांग्रेसको हालै सम्पन्न क्षेत्रीय अबिधेशनको निर्वाचनमा खुलातर्फ महाधिबेशन प्रतिनिधिमा सर्बाधिक मत ल्याई विजयी भएका थिए ।
त्यस्तै, दमक ७ निवासी तरुण दल झापाका पूर्व सभापति समेत रहेका भूमिराज राईले आदिवासी जनजाति कोटाबाट नै ७०१ मत ल्याई सदस्यमा विजयी भए । त्यसैगरी दमक १ निवासी नेतृ रेगिना भट्टराई प्रसाई महिला समूहतर्फ ७१८ र सोही समूहबाट उम्मेदवार भएकी चन्द्रकुमारी खडका भटटराई ६९५ मत पाएर विजयी भएकी छिन् । यसैगरि, आदिवासी जनजाति महिला समूहतर्फ गौरीगञ्जकी फुलवती राजवंशीले ७५२ मत पाएर विजयी भएकी निर्वाचन समितिले जनाएको छ ।
प्रदेश समितिको खुला सदस्यमा गौरादहका प्रकाश कार्कीले ७९८ मत पाएर विजयी भएका छन् । यता गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह भने सहमहामन्त्री पदमा पराजित भएका छन् ।
झापा ५ बाहिर समग्र जिल्लाबाट भने सदस्यमा क्रमशः किरण भट्टराई ,मिरा कार्की खड्का ,राजकुमार बराइली ,टेकबहादुर खजुम लिम्बू ,बिमल आचार्य ,रन्जिता कार्की ,उत्तमबहादुर चौम्लागाइ र सोभा श्रेष्ठ नेम्बाङ निर्वाचित भएका छन् । त्यसमध्ये आचार्य मेचीनगर नगरपालिकाका प्रमुख हुन् । यससंगै प्रदेश कार्यसमितिमा सभापति उद्धव थापाबाहेक सदस्यमा झापाबाट १४ जना निर्वाचित भएका छन् ।