
झापा,२० मंसिर ।नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासी-जनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे।
उनले तीनै तहका आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन समस्त लोकतन्त्रवादीलाई एकताबद्ध पार्न राष्ट्रियरूपमा लोकतान्त्रिक पुनःजागरण अभियान सञ्चालन गर्नेलगायत विभिन्न १३ एजेन्डा अघि सारेका छन्।पाँचथर निवासी उनी पूर्व सांसद तथा पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।
कांग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरअन्तर्गत आठजना सहमहामन्त्री रहने व्यवस्था छ ।अनुशासन विभागका संयोजक समेत नेता आङ्देम्बेले पार्टीलाई वैचारिकरूपमा स्पष्ट, साङ्गठनिकरूपमा गतिशील र भावनात्मकरूपमा एकताबद्ध तथा अनुशासित र प्रशिक्षित कार्यकर्ताको ऊर्जाशील अभियानका रूपमा विकास गर्न आफूले उम्मेदवारी दिने बताए।
समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न चुनौती देखिएको उल्लेख गर्दे उनले कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आवश्यक रहेको समेत औल्याए । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।