नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

दमक,२० मंसिर । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन ।
स्वास्थ्य सचिव डा. पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरे । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

२२ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमित दुवै जना गत हप्ता दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको केन्द्रको भनाइ छ ।

यस्तै साउदी अरबमा पनि एकजना कोभिड(१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । दक्षिण कोरियामा पनि ओमिक्रोनका संक्रमित फेला परेका छन् । त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पत्तीमा ओमिक्रोन देखिएको हो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन् । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले हालसम्म २२ जनामा ओमिक्रोन पुष्टि भएको र संख्या बढ्ने बताए । ‘यो बिन्दुसम्म संक्रमितको संख्या निकै कम छ’, स्काइ न्युजसँग कुरा गर्दै उनले भने, ‘हाल बेलायतमा २२ जना संक्रमण पुष्टि भएको छ र उक्त संख्या निश्चय पनि बढ्ने छ ।’

नयाँ भेरियन्‍टको सम्भावित असर बुझ्ने कार्य भइरहेको र २ हप्ताभित्र ओमिक्रोनबारे थप जानकारी प्राप्त हुने पनि मन्त्री जाभिदको भनाइ थियो । एसियामा जापानसहित इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ । त्यस्तै, अष्ट्रेलियामा ओमिक्रोन संक्रमितको संख्या ६ पुगेको अधिकारीहरूले बताएका छन् । यसमध्ये ५ जना न्यू साउथ वेल्सका र १ जना नर्दन टेरिटरीका रहेका छन् । सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित ७७ पुगेका छन् भने बोत्स्वानामा १९ जनालाई यो भेरियन्टले संक्रमण गरेको छ । क्यानाडामा समेत ३ जनामा ‍ओमिक्रोन पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.