
झापा,२० मंसिर । नेपाली काँग्रेस प्रदेश १ मा सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापा निर्वाचित भएका छन् । कोइराला पक्षका उम्मेदवार गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापाले निर्वाचित भएका हुन् ।
१७८४ मत मध्ये थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्री बाहेकका अन्य पदहरूमा पनि थापा पक्ष नै निर्वाचित भएको छ ।
उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी (८९१ ) र टङ्कप्रसाद राई (८४७ )मतसहित निर्वाचित भएका छन् ।
महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई (८२४ )र कोइराला पक्षका उमेश थापा (८२३ )मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।
सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । कोइराला पक्षले उम्मेदवार नबनाउने भएपछि गठबन्धनबाट उम्मेदवार भएका थिए। उर्लाबारी नगरपालिकाका मेयर समेत रहेका उनी प्रभावशाली नेताको रूपमा चिनिन्छन् । यसैगरी महिला सहमहामन्त्री पदमा संस्थापनकै प्रमिला गच्छदार ८३७ मतसहित विजयी भएकी छिन् ।
सहमहामन्त्रीका अन्य उम्मेदवारहरू विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, वीर काजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाएका छन् । प्रदेश कार्यसमितिका सदस्यहरुको भने मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । सदस्यहरुको अन्तिम मतपरिणाम दिउँसो १२ वजे भित्रमा सार्वजनिक भईसक्ने निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए ।
काँग्रेस लुम्बिनीमा पौडेल पक्षका अमरसिंह पुन विजयी
काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्।
शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन् । प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन्।
रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका शाह र पाठकले पराजय भोगेका छन्। शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन्। उनलाई गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल, किशोर सिंह राठौर समर्थन गरेका थिए।
पुन समूहलाई केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगायतले समर्थन गरेका थिए। उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्।
श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्। महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएका छन् ।
त्यसैगरी सहमहामन्त्रीमा पनि पुन प्यानलकै बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्।
बागमती सभापतिमा बानियाँ विजयी
कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।
कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए भने केसीले ९२७ मत पाए ।
पहिलो चरणमा तीन जना सभापतिका उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो ।
पहिलो चरणबाट बाहिरिएका सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।
पहिलो चरणमा बानियाँले ९९२ मत ल्याएका थिए भने सभापतिका अर्का उम्मेदवार केसीले ८७२ मत पाए । तेस्रो भएका प्रधानले १९७ मत ल्याएका हुन् ।
