अध्यक्ष नेपाल दमकमा भोलि आउँदै

दमक,१९ मंसिर । झापाको दमकमा भोलि सोमबार पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आउने कार्यक्रमको तयारी पूरा भएको छ । सो पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने खेलको नमुना प्रदर्शन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेता नेपाल आउने कार्यक्रम छ ।
आयोजक महासंघ समाजवादीले आज दमकस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नेता नेपालले खेलाडी तथा पार्टीका समर्थक, शुभेच्छुक कार्यकर्ताहरुको बृहत भेलालाई सम्बोधन गर्ने तय भएको जनाएको छ । १ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाबाट विभिन्न बिधाका खेलाडीहरुसहित महासंघ समाजवादीका कार्यकर्ताहरु समेत एक हजार बढी सहभागी हुने सो कार्यक्रमलाई पार्टीका प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेका पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र राई , नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय अध्यक्ष केशव बहादुर विष्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका नेता केन्द्र बहादुर प्रसाइँले जानकारी दिए । उनले झापालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्रै प्रभाव भएको जिल्लाका रुपमा गलत व्याख्या भइरहेकोले झापामा एकीकृत समाजवादीको अवस्था र सक्रियताको अनुभूति हुने किसिमको कार्यक्रम तय गरिएको पनि बताए ।
खेलकुद महासंघ प्रदेश समिति अध्यक्ष शंकर थापाले खेलकुद महासंघ र खेल बिकासका क्षेत्रमा यो कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले खेलुकदको आवश्यकता, औचित्य र यसका लागि चाहिने राष्ट्रिय नीतिका बिषयमा समेत कार्यक्रममा गम्भिर बहस र छलफल सहित प्रशिक्षणमूलक कार्यक्रम हुने जानकारी दिए ।

महासंघका प्रदेश इञ्चार्ज हंसारज वाग्लेले खुल्ला सत्रमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष नेपालसहितका नेताहरुको सम्बोधनपछि हुने बन्द सत्र प्रशिक्षणमूलक रहने जानकारी दिए । अध्यक्ष नेपालले सोही दिन विर्तामोडस्थित पार्टी कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जनाइयो । भोलिपल्ट मंगलबार इटहरीमा पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ताहरुको प्रशिक्षणमा समेत अध्यक्ष नेपाल सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.