चुम्लुङ दमकले मनायो ‘चासोक तङनाम’

दमक,१९ मंसीर । किरात याक्थुङ चुम्लुङ दमक नगर शाखाले दमक–२ भाङबारीस्थित चुम्लुङ यकमा विभिन्न कार्यक्रम गरि चासोक तङनाम -५०८५ मनाएको छ ।विगत वर्ष झैं यसवर्ष पनि मङ्सिर १७ र १८ गते आयोजना गरि भव्यताका साथ मनाएको चासोक तङनाम अध्यक्ष देवेन्द्र मावोहाङ् चेम्जोङले बताएका छन् ।

अध्यक्ष चेम्जोङका अनुसार मङसिर १७ गते बिहान परम्परागत फेदाङमा र सत्यहाङ्मा विधिबाट चासोक सेवा गरिएको थियो भने दिउँसो पक्लुङ लेप्मा र पाःलाम प्रतियोगिता आयोजना गरिएको थियो । पक्लुङ लेप्मा कार्यक्रममा ३५ जना प्रतियोगीहरुलाई उछिन्दै कमल–३ केर्खा निवासी मच्छिन्द्र नाल्वो प्रथम भएका थिए ।
पाःलाम प्रतियोगितामा ६ वटा समूह सहभागि थिए ।

जसमा फक्ताङलुङ सयङ् इटहरी, सुनसरीका सनवीर लिम्बूको समूह प्रथम भएको थियो । त्यसैगरी फक्ताङलुङ सयङ् झापाका शर्मिला लिम्बूको समूह दोस्रो र रतुवामाईका उदय केरुङको समूह तेस्रो भएको थियो भने सान्त्वना पुरस्कार मोरङ केराबारीका प्रमिला चेम्जोङको समूह भएको थियो। प्रतियोगिताका विजेता टोलीहरुलाई पुरस्कृत गरियो । पाःलाम प्रतियोगिताको छनौटमा लालबहादुर नेयोङहाङ्, कविन्द्र सेर्मा र सेसेहाङ् फियाक रहेका थिए ।

यसैगरि, विहिबार चासोक तङनाम आयोजना गर्न विशेष आर्थिक सहयोग पुरयाँउने दाताहरुलाई मायाको चिनो सहित सम्मान गरिएको चुम्लुङ दमक नगर शाखा सह–सचिव आकाश लावतीले जनाए ।

चुम्लुङले चासोकका अवसरमा बर्षेनी विभिन्न कार्यक्रम गरि आएकोमा यसवर्ष भने आफनै जमीनमा विविध कार्यक्रमका साथ दुई दिने चासोक तङनाम मनाएको सचिव चन्द्रबहादुर कन्दङवाले बताएका छन् । उनका अनुसार चासोक कार्यक्रममा गायिकाहरु दुर्गा तुम्सा ,कर्मिला आङदेम्बे लगायतका कलाकारहरुले मिठासपूर्ण सांगीतिक प्रस्तुति प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
चुम्लुङलाई स्थानीय समाजसेवी निर्मला देवानले ५ कठ्ठा जमीन निशुल्क दिएकी थिइन् । सोहि जमीनलाई चुम्लुङ यक नामाकरण गरि यसवर्ष चासोक तङनाम धुमधामका साथ मनाईएको सचिव कन्दङवाले बताए ।

 

Leave a Reply

Your email address will not be published.