भद्रपुर, १६ मंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।आजको खेलमा कचनकवल गाउँपालिकालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह (ग ) को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ ।
लिग चरणका सबै तीन खेल जित्ने मेचीनगर एक मात्र टोली बनेको छ । खेलको छैटौँ र १६ औँ मिनेटमा मेचीनगरका निरज कार्कीले गोल गरेका थिए । त्यस्तै, ६१ औँ मिनेटमा सन्देश खवासले एक गोल गरे । प्लेयर अफ दि म्याच भएका कार्कीले नगद दुई हजार र ट्रफी पाए ।
यसैबीच, आज भएको दोस्रो तथा समूह (ग )को लिग चरणको अन्तिम खेलमा भद्रपुर नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै भद्रपुर पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
बाह्रदशी गाउँपालिकासँग बराबरी मात्रै खेले पनि भद्रपुर नकआउट चरणमा प्रवेश गर्ने अंक गणितीय अवस्थामा थियो । हारसँगै बाह्रदशी लिग चरणबाट घर फर्किएको छ ।
भद्रपुरले बाह्रदशीलाई २–० गोल अन्तरले हराएको हो । खेलको ३२ औँ मिनेटमा भद्रपुरका उदेश कामतीले गोल गरे । त्यस्तै, खेलको ५६ औँ मिनेटमा निवाङ लिम्बूले गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच भएका भद्रपुरका कामतीले नगद दुई हजार र ट्रफी पाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दिपेश ढकाल, कोशी प्रदेशसभा सदस्य मोहन महर्जन, प्रदेशसभाका पूर्वसदस्य वसन्त बानियाँ, सौजन्यकर्ता प्रमिला ओझा, किरण शर्माले प्रदान गरेका थिए ।फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।