राप्रपा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै लिङ्देन

झापा ,९ मंसिर । झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दैछन्।राप्रपा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै लिङ्देन

आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत नेता लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्न लागेका हुन्। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा राप्रपामा नेतृत्व चयनको लागि आपसमा रस्साकस्सी जारी छ।

चार दिनअघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले लिङ्देनलाई समर्थन गरेपछि उनले बिहीबार ११ बजे काठमाडौँबाट अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका हुन्।

लिङ्देनले भने, ‘पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।’ उनलाई समर्थन गरेका राणाले महामन्त्री पदमा उम्मेदवारी दिने सम्भावना बलियो रहेको लिङ्देनले बताए। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि उपस्थित हुनेछन्। नेता लिङ्देनले आगामी महाधिवेशनबाट पार्टी नयाँ नेतृत्वमा जानुपर्ने बताउँदैआएका छन्।

तर लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रमकै समयमा पार्टीको कार्यसम्पादन समितिको बैठक डाकिएको छ। उक्त बैठकले आफ्नो कार्यक्रमलाई कुनै असर नपर्ने लिङ्देनले बताए।

Leave a Reply

Your email address will not be published.