
–छविराज ढकाल
पथरीशनिश्चरे, ९ मंसीर । पथरीशनिश्चरे नगर क्षेत्रमा हाल प्रदर्शन भैरहेको नाटक‘ अनि देउराली रुन्छ’ले आम दर्शकको आँखा रसाएको छ।
नेपालीभाषी दार्जिलिङवासी वरिष्ठ साहित्यकार मान बहादुर मुखियाको लेखन रहेको उक्त नाटकले झण्डै ४ दशक अघिको नेपाली समाजको ज्वलन्त वियोगान्त प्रेम कथा , सामाजिक अन्याय , उत्पीडन , महिला हिँसा, शोषण, विकृति र विसङ्गतिजस्ता अनगिन्ती घटना परिघटनालाई मार्मिक, कारूणिक र सशक्त रूपमा अभिनयमार्फत दर्शकसामु पस्किएको पाईन्छ।
देउराली गाउँमा धनाढ्य मुखिया र उसका निकटतम सल्लाहकारले गाउँ समाजमा गरेका षड्यन्त्र र अप्ठ्यारो परिस्थिति सृजना गरेर सर्वसाधारण जनतामाथि गरेको कूकृति , ज्यादती ,र शोषणका अनेकौं उदाहरणहरू नाटकभित्र प्रशस्तै फेला पार्न सकिन्छ ।
नाटक भित्र गाउँ समाजका सुन्दर युवा वर्गको अमर प्रेम समाजका ठुला भनाउँदाको गिद्धे नजर पर्नु र षड्यन्त्रको जालोमा अरू सर्वसाधारणलाई उचालेर फसाउने घृणित कार्य देख्न सकिन्छ। कुटपिट, झैझगडा र त्यसपछि उव्जिएका असहज घटनाक्रमले शान्ति र समृद्धिका साथ बाँच्न चाहने गाउँलेहरुलाई धुरूधुरू रूवाएर देउराली गाउँबाट उठिवास लगाएको लगायतका प्रतिनिधिमुलक घटनाहरू नाटकमा भेटिएको स्थानीय शिक्षक ईच्छेकुमार दासले बताउनुभयो ।
स्थानीय क्षेत्रका कुशल कलाकारहरूले सफल र सशक्त रूपमा अभिनयमार्फत आफ्नो कलाकारितालाई सशक्त बनाएका छन् ।
पथरीशनिश्चरे नगर क्षेत्रमा आफ्नो निवास भएका वरिष्ठ नाट्यकर्मी जीवन बरालद्वारा निर्देशित उक्त नाटकमा कलाकारहरूले मोफसलमा रहेर पनि जिवन्त अभिनय प्रस्तुत गरेको रेडस्टार माविकी कक्षा १० मा अध्ययनरत छात्रा स्मृति निरौलाले बताइन् ।
शब्द थिएटर पथरीका निर्देशक जीवन बराल, कलाकारहरु सरोज तिम्सिना , सन्तोस राईूछत्रू, ईश्वर दुलाल , अशोक साम्पाङ,पुष्प राई, मेनुका कुलुङ लिम्बु , बालकलाकार काव्य बराल आदिले नाट्यकला प्रस्तुत गरेका हुन् । पथरीशनिश्चरे बडा नं २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको हलमा हरेक दिन विहान ८ बजे ,११ वजे र अपरान्ह ४ बजे गरी ३ शो प्रदर्शनी भैरहेका छन् । उक्त नाटक मंसिर ११ गतेसम्म प्रदर्शन हुने निर्देशक जीवन बरालले बताए ।
विभिन्न संघ संस्था, विद्यालय तथा बुद्धिजीवीले गत ४ गते भएको नाटक प्रर्दशनीको पहिलो प्रिमियर शोलाई औधि मन पराएका छन् । सोहि क्रममा नगरप्रमुख दिलिप कुमार राईले स्थानीय कलाकारहरुको गरेको अभिनयमा निक्कै प्रभावित भएको जनाउँदै यस्तो नाट्यकलाको थप विकासका लागि प्रोत्साहनवापत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।