
झापा, ८ मंसिर । नेपाली कांग्रस १४ औं महाधिवेशन अन्र्तगत झापा जिल्लाको यहि मंसिर १० गते हुने जिल्ला अधिबेशनको निर्वाचनमा सभापति पदका उम्मेद्वार देउकुमार थेबेले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।
देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पदका उम्मेद्वार थेबेले आफ्ना टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गरेका हुन् ।
सभापति पदका उम्मेद्वार थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई , केशवराज पाण्डे , सचिव कृष्ण हुमागाँई, नविन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार रहेका छन् ।समावेशी जुझारु भनिएको सो टिममा जिल्ला सभापतिका उम्मेद्वार थेबे क्षेत्र नं ४ , उपसभापति भट्टराई क्षेत्र नं ५ , उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाँई क्षेत्र नं २ , सचिव बिमली क्षेत्र नं ३ , सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेका छन् ।
आफ्नो टीमको घोषणा गर्दै सभापतिका उम्मेद्वार थेबेले १३ औं महाधिवेशनमा भएको ९ बुँदे सहमतिलाई टेकेर अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको बताउँदै आगामी दिनमा पार्टीलाई अझ चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन आव्हान गरे ।
घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले केपी ओलीको जिल्लामा निर्वाचनमा भिड्नु पर्ने भएकाले लरतरो स्यालले पार्टीको नेतृत्व हाँक्न नसक्ने भएर बाघ नै ल्याएको धारणा राखे । उनले एउटा प्यानलबाट महाधिवेशन प्रतिनिधि लडेर हारेको व्यक्ति त्यही दिन अर्को प्यानलबाट उम्मेद्वार बनिदिँदा आफूहरुको लगानी खेर गएको बताए ।
उनले जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी , पूर्व सांसद डिल्लीप्रसाद सिटौला , जिल्ला सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पार्टीका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन चित्रकला ओलीले गरेकी थिईन् ।
यता कांग्रेस नेता विश्वप्रकास शर्मा निकट राम कटटेल समूहले पनि यसअघिनै जिल्ला सभापतिसहितका पदाधिकारीमा आफना टिम सार्वजनिक गरेका छन् । त्यस समूहबाट कांग्रेस जिल्ला सभापतिका उम्मेदवार कटटेल, उपसभापतिमा २०६२र६३ को जनआन्दोलनमा शहीद भएका राजन गिरीका पिता केदारशमशेर गिरी र सचिवमा संविधानसभाका सदस्य दमक निवासी विश्वदिप लिङदेन उम्मेदवार वनेका छन् ।