
पथरीशनिश्चरे, ५ मंसिर । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरसका कारण गत वर्षबाट सारिएका केहि योजनाहरुमध्यें ३ वटाको आज आईतबार नगरपालिकाद्वारा अनुगमन गरिएको छ ।
नगर उपप्रमुख एवम योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले रजतजयन्ती मार्गको वडा नम्बर ५ मा पर्ने जयनगर होलीमा निर्मित पक्की कल्भर्टको अनुगमनसहित सुझाव दिएको हो ।
नगरकोषको १६ लाख ८७ हजार ३ सय ४१ रुपैयाँको लागतमा ६ मिटर लम्बाई, ७ मिटर चौडाई र ३ मिटर उचाईको नवनिर्मित कल्भर्ट अनुगमन गरिएको थियो।
त्यस्तै, १६ लाख २७ हजार ३ सय ५१ रुपैयाँको लागतमा वडा नम्बर ९ स्थित शनिश्चरे स्वास्थ्य चौकी जोड्ने अधुरो कालोपत्रे सडकको कालोपत्रे पुर्ण गर्ने कार्यको समेत अनुगमन गरिएको छ ।
३ सय १० मिटर लम्बाई, ५ मिटर चौडाई र २ सेन्टिमिटर मोटाई रहेको भएपनि केहि ठाउँमा चौडाई र मोटाई केहि नपुगेको पाइएको तथा पूर्णगुणस्तर समेत नपुगेको अवस्थामा अनुगमन टोलीले पाइएको जनाएको छ । सो बारेमा अनुगमन समितिको बैठक बसी निर्माण कम्पनी पवित्रा निर्माण सेवालाई पत्राचार गर्ने निर्णय गरिएको छ ।
वडा नम्बर ६ मा कुँडामरिया बक्राहा खोलामा अधुरो पुल निर्माण कार्यको अनुगमनका क्रममा सो योजनाको अघिल्लो वर्षदेखिको सम्पूर्ण जानकारी लिएर अध्ययनका लागि कार्यपालिका बैठकमा छलफल गर्ने निर्णय गरिएको संयोजक वास्तोलाले जनाईन् ।