
झिलझिले ,५ मंसिर । दलित तथा अल्पसंख्यक समुदायका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सतासीधाम जेसीजले यो वर्षको जेसीज सप्ताह कार्यक्रम शुरु गरेको छ ।
शिवसताक्षी ८ का दुई वटा सामुदायिक विद्यालयका ३ जना छात्रछात्राको अभिभावकत्व ग्रहण गर्दै जेसीज सप्ताहको उद्घाटनसँगै सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गर्दै सुरु भएको हो । आईतबार विद्यालय हाता मै पुगेर सरस्वती प्राथमिक विद्यालयमा अध्यनरत कक्षा १ का पल्टन मुर्मु र कक्षा ४ की सीता मुर्मुको वर्ष २०२१-०२२को शैक्षिक शत्रको अभिभावकत्व सतासीधाम जेसिसले ग्रहण गरेको हो ।
पाठ्यपुस्तक, कपी, पेन्सिल र उनीहरूका नामबाट विद्यालयमा जम्मा हुने वार्षिक सहयोग शुल्क समेत सतासीधाम जेसीजले उपलव्ध गराएको जेसीजका अध्यक्ष कमल सेन्चुरीले बताए । यस्तै सोही वडाको झिलझिले माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यनरत खेमराज भित्रीकोटीको पनि सतासीधाम जेसिसले अभिभावकत्व ग्रहण गरेको छ ।
उनलाई पनि विद्यालय पोसाक, पाठ्यपुस्तक, कपी, बलपेन् लगायतका अन्य आवश्यक शैक्षिक सामग्री प्रदान गरेको छ । सरस्वती आधारभूत विद्यालय परिसरमा आयोजित एक भब्य समारोहकाबीच शिवसताक्षी ८ का अध्यक्ष केहरशिंह बस्नेत, वर्ष २०२१ का सतासीधाम जेसीज अध्यक्ष कमल सेन्चुरी, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक देवीबहादुर कार्की लगायतका अतिथिले विद्यार्थीलाई शैक्षिक सामग्री र सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थीबाट भुक्तानी हुने सहयोग शुल्क प्रदान गरेका थिए ।
कार्यक्रममा निर्मला प्रधानले जेसीज आस्था बाचन, विवेक ढकालले जेसीजको मिशन भिजन र २०२० का अध्यक्ष कुमारसिंह सावाँले जेसी सप्ताह औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा जेसी दारुमान राईले सतासीधाम जेसिस स्थापना भए यता हालसम्म गरिएका गतिविधिको बारेमा प्रस्ट पारेका थिए ।
झिलझिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज निरौला, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक देवीबहादुर कार्कीले सतासीधाम जेसिसले गरेको कामको खुलेर प्रसंसा समेत गरेका थिए ।
सतासीधाम जेसीजले ७ गते नगरको माईधारमा लागुपदार्थ दुव्यर्सन सम्बन्धी सचेतना, ८ गते धरमपुरमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना, ९ गते सतासीधाम जेसीजको कवर्ड हल दूधेमा प्रतियोगितात्मक ब्याडमिन्टन,१० गते शिवसताक्षी ६ को जनआदर्श माध्यमिक विद्यालयमा अन्तर सामुदायिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता र ११ गते दुधेको सिकाइ केन्द्रमा घर शिक्षा सम्बन्धी कार्यक्रम तथा जेसीस सप्ताह समापन कार्यक्रम हुने सतासीधाम जेसीजका महासचिव अर्जुन भट्टराईले जानकारी दिए ।