बिजुली बलेपछि किलिङबासीले मनाए खुशीयाली

ताप्लेजुङ, ३० कात्तिक । ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बिजुली बत्ती बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको किलिङ गाउँमा लघु जलविद्युत आयोजनामार्फत् बिजुली बलेसँगै स्थानीय हर्षित भएका हुन् भने नाचगान गरेर खुशीयाली मनाएका छन् ।
जिल्लाको निक्कै नै दुर्गम तथा विकट गाउँ किलिङमा स्थानीयको सक्रियतामा लघु जलविद्युत आयोजना निर्माण गरिएको हो । स्थानीय घट्टेखोलाबाट १५ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि किलिङ गाउँ नै उज्यालो भएको पापुङका वडाध्यक्ष डण्डु लामाले बताए । वडाध्यक्ष लामाका अनुसार ७५ घरधुरी रहेको साविक पापुङ वडा न. ८ र ९ किलिङ बस्तीका प्रत्येक घरमा अहिले बिजुली बत्ती बलेको छ ।
हिमाली क्षेत्र साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा ९सोलार बत्ती० प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका किलिङबासी बिजुली बत्ती बाल्न पाएपछि हर्षित भएका छन् । तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाको उपस्थितिमा उद्घाटन गरिएको आयोजनामार्फत विजुली बत्ती बाल्न पाएपछि स्थानीयवासीले नाचगान गरेर खुशीयाली नै मनाएको वडाध्यक्ष लामाले बताए।
यता, आयोजना निर्माण भएपछि घरमा उज्यालो बत्तीको सुविधासँगै त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ । त्यस्तै, विगतदेखि नै कुटानी पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङबासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताए । उनका अनुसार मिल स्थापना गरेर त्यहाँ उत्पादन हुने उवा र जौको पीठो बनाएर उपभोग साथै व्यापार गर्ने योजनामा स्थानीय रहेका छन् । लेक क्षेत्रमा उत्पादन हुने खाद्यान्न बाली उवा र जौको पीठोको माग निक्कै हुने गरेका छ ।
उक्त घट्टेखोला लघु जलविद्युत आयोजनाका लागि ९६ लाख रुपियाँ र स्थानीयको श्रमदानसमेत लगानी भएको छ । लागतको कुल रकमध्ये वडा कार्यालयको अनुदान ४९ लाख रुपियाँ, नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलामको २२ लाख, मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट १५ लाख रुपियाँ छ । वडाध्यक्ष लामाका अनुसार गत फागुनबाट आयोजना निर्माणको कार्य शुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.