दमक , २९ कार्तिक । झापा क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी निश्चलता लावती ( कल्पना )ले समृद्ध नयाँ नेपाल निर्माण गर्न आफनो उम्मेदवारी भएको बताएकी छन् ।
प्रदेशवाणी डटकमसंगको कुराकानीका क्रममा उनले देशलाई समृद्ध र विकास गर्न ठुला दलहरु असफल भएकाले अव जनताले सक्षम नेतृत्व चुन्नु पर्ने खाँचो रहेको औल्याइन् । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन उपयुक्त अवसर भएको र त्यसलाई उपयोगी बनाउनु पर्ने उनले सुनाईन् ।
एकताका कम्यूनिष्ट पृष्ठभूमिबाट राजनीतिमा आएकी उनी पहिचानका पक्षधर अगुवा नेतृ मानिन्छन् । सन्जुहाङ्ग पालुङवा नेतृत्वको संघीय लिम्बूवान पार्टीमा उपाध्यक्षकी जिम्मेवारी सम्हालिसकेकी उम्मेदवार लावतीले पार्टी भन्दा माथि उठेर देशको स्वाधिनतासंगै अग्रगमन परिवर्तन गर्नका लागि आफूले स्वतन्त्र विचारमार्फत जनताका माझमा आएको उल्लेख गरिन् ।
पूर्वको आदिवासी जनजाति महिलामा राजनीतिक, बैचारिक र सङ्गठनात्मक चेत भएकी उनले समानता ,नेतृत्व तथा नीति निर्माण तहमा समेत महिलालाई स्थापित गर्न महिलालाई जिताउनु पर्ने धारणा राखिन ।
११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेर क्षेत्रबासी मतदाताहरु माझ चुनावी अभियानलाई तीव्रता दिदैआएकी उनले यस क्षेत्रका मतदाताहरुले समृद्धि र विकासका लागि सक्षम उम्मेदवारलाई जिताउने विश्वास व्यक्त गरिन् । क्षेत्रबासीको माया र सहानूभूतिका कारण आफनो पक्षमा जनमत बढ्दै गएको उनको दावी छ । कमल गाउँपालिका वडा न. ४ मा स्थायी बासिन्दा युवा नेतृ लावतीले भनिन्, –‘झापाली सचेत नागरिकले पार्टी भन्दा माथि उठेर पक्कै पनि आफनो भाग्य र भविष्यको फैसाला गर्ने छन् ’
देश संघीयता गएपनि जनताले अनुभूति गर्न नपाएको तथा निर्वाचनमा राजा ल्याउने एवं हिन्दु राष्ट्र माग्ने राप्रपा र कुनै राजनीतिक एजेण्डानै नभएको देशलाई भड्खालोमा हाल्न अहोरात्र लागि रहने एमालेलाई जनताले मत दिन बेकार हुने उनले वताईन् । ‘खकुरी क्रस’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी उनले आफनो विचारलाई यहाँका क्षेत्रबासीले साथ दिने विश्वास व्यक्त गरिन् ।