प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

दमक,२४ कार्तिक । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलाम,चुलाचुलीका दुईजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा इलाम चुलाचुली गाउँपालिका वडा न. ३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली ५बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतवार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमकको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीका घटनामा उनीहरु संलग्न भएको आरोप छ । योसंगै इप्रका दमकमा आक्रमण गर्ने ४ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार ,दुई दिन अघि मात्र इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा पाँचथर मिक्लाजुङ वडा नं. ५ स्थायी ठेगाना भई हाल दमक ५ मा बस्दैआएका २१ वर्षीय साजन लुहागुनलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ ।

यसैगरि, जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरुलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । अहिलेसम्म प्रहरीले दमकबाट ४ र बिर्तामोडबाट ६ जना गरि १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयहरुमा आक्रमण गर्नेहरुको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ । जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेहरुमाथि पचासभन्दा बढी उजुरी परेको र ती उजुरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.