चुलाचुली ,२४ कार्तिक । ग्रामीण क्षेत्रमा रहेर नाट्यकलामा राष्ट्रियस्तरमै चर्चा कमाउँदैगरेको इलामको चुलाचुलीस्थित चुलाचुली थिएटरको अध्यक्षमा चेतन आङ्थुपो पुनः चयन भएका छन् ।
बिहिबार भएको ११औं साधारणसभाले पत्रकार तथा नाट्यकर्मी आङ्थुपोको नेतृत्वमा सात सदस्यीय मूल कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा रमिला राई, सचिवमा पत्रकार सन्तोष गिरी, सह–सचिवमा पूजन बस्नेत र कोषाध्यक्षमा हेमराज विश्वकर्मा चयन भएका छन् ।
सदस्यहरूमा मनिष मगर र सुनिता दर्जी चुनिएको सचिव गिरीले जानकारी दिए । यो रंगमञ्चले गाउँका मौलिक कथा–व्यथा नाटककै माध्यमबाट देश–दुनियाँसम्म छर्ने प्रयत्न गरिरहेको छ ।
२०६५ सालमै नाटकको सर्कलमा आबद्ध भएर यहाँका युवाले ‘नयाँ बाटो–नयाँ पाइला’ नाट्य समूह बनाएका थिए । सामाजिक रूपान्तरणका लागि उनीहरूले गठन गरेको यो समूह २०७० सालमा आएर चुलाचुली रंगमञ्चको रूपमा स्थापना बन्न पुगेको हो ।