धरान ,२३ कार्तिक। सुनसरीको धरानमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएपछि सञ्चालकसहित ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुधारगृह सञ्चालक धरान–८ का ३५ वर्षीय मणिराज राई, धरानकै २५ वर्षीय राकेश प्रधान, २० वर्षीय श्रवण राजधानी, ४० वर्ष निकेश सुनुवार, ४१ वर्षीय सुरेन लिम्बू , ३८ वर्षीय हस्तबहादुर विश्वकर्मा, ३७ वर्षीय बिरु लिम्बू, ३५ वर्षीय सचिन राई र मोरङको सुन्दरहरैचा बस्ने वर्ष २७ को विजय चौधरी रहेका छन् ।
धरान–११ मंगलबारेस्थित पुनस्र्थापना केन्द्रमा उपचारत तेह्रथुमको मेन्छयायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट घाइते भएका राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत मंगलबार दिउँसो मृत्यु भएको हो ।
प्रहरीले पुनस्र्थापना केन्द्रमा लगाएको सीसी क्यामेरा फुटेज हेर्दा पाता कसेर कम्मरमा कम्ब्याट र डसनाले हातखुट्टा समेत चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएपछि सञ्चालकसहित ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
गत बिहीबार नियन्त्रणमा लिइएका उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।