
विराटनगर,२२ कार्तिक । नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरले वितरण गर्दै आएको धाराको पानी खोलाकै पानी जस्तो देखिन थालेको छ ।विगतमा खानयोग्य पानी वितरण गर्ने कार्यालयले अहिले वितरण गर्ने गरेको पानी खान योग्य नभएको पाइएको हो । धारामा पानी निकै धमिलो र रातो जस्तो देखिने गरेकाले यहाँका बासिन्दा यो पानी खानेभन्दा अन्य काममा प्रयोग गर्न थालेका छन् ।
देवकोटा, तिनपैनी, मुनालपथ र रानी क्षेत्रको पानी ट्याङ्कीमा मुनालपथ बाहेकका सबै ट्याङ्की ४० वर्ष अगाडिका रहेको संस्थान प्रमुख शैलेन्द्र साहले बताउनुभयो । प्रत्येक ट्याङ्की ४५० घनमिटरका छन् । दैनिक विराटनगर क्षेत्रमा एक करोड २० लाख लिटर पानी वितरण भए पनि नगर क्षेत्रमा करिब दुई करोड लिटर पानीको माग रहेको उनको भनाइ थियो ।
देवकोटा पानी ट्याङ्कीबाट वितरण हुने पानी निकै फोहर, धमिलो र रातो माटो मिसिएको जस्तो देखिएकाले यसमा निर्भर उपभोक्ताले जार र बोतलका पानी प्रयोग गरिरहेका छन् । यसमा संस्थाले समयमै ध्यान दिनु आवश्यक रहेको स्थानीयवासी अर्जुन सुवेदीले बताए ।
यस सम्बन्धमा संस्थानका प्रमुख साहले बाटो निर्माण गर्ने क्रममा केही ठाउँमा पानीका पाइप फुटेका कारणले यस्तो भएको हो, उपभोक्ताले पनि गुनासो गरिरहेको स्वीकार गर्दै सफा र खानयोग्य पानी वितरण गर्न संस्थान प्रतिबद्ध भएको बताए । उनले दिनमा तीन पटक वितरण गर्ने खानेपानीको न्यूनतम १० युनिटको महसुल रु ११० र यस अतिरिक्त प्रतियुनिट रु २५ लाग्ने संस्थानको नियम रहेको जानकारी दिए ।
वार्षिक रु सात करोडसम्म आम्दानी गर्न सफल खानेपानीले वितरण गर्ने पानीलाई सफा बनाउन र सुधार गर्न ‘जाइका’ नामक संस्थाले केही महिनापछि रु तीन अर्बको लगानीमा काम थाल्ने प्रमुख साहको भनाइ थियो । उनले यसका लागि विराटनगर महानगरपालिकाले वडा नं ५ मा जग्गा पनि उलब्ध गराइसकेकाले जाइकाले काम सम्पन्न गरेपछि विराटनगर क्षेत्रको खानेपानीको समस्या समाधान हुने जिकिर गरे।
केही वर्ष पहिले विराटनगरको खानेपानीमा जण्डिस हुने किटाणु देखिएपछि निकै समस्या भएको थियो भने यो समस्या पुनः दोहोरिन सक्ने उपभोक्ता रविन पाण्डेले बताए । उनले भने , “यो खानेपानी हो कि खोलाको पानी हो छुट्याउन गाह्रो छ ।” खानेपानी संस्थाले यस्तो पानी वितरण गर्न थालेपछि विराटनगर क्षेत्रमा जार, बोतलको पानीको व्यापार भने फस्टाएको छ ।