झापा महिला गोल्डकप : एपिएफको शानदार जित

 दुधे , १८ कात्तिक। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९ औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो । त्यसपछि ३८ औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन् ।

पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो । ४१ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । जससँगै पहिलो हाफ एपिएफको पक्षमा ५–० मा समाप्त भयो ।

दोस्रो हाफमा पनि एपिएफको आक्रमण रोकिएन । ७१ औँ मिनेटमा सविता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन् । ८४ औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन् ।सिंग्लिङ स्पोर्टिङ क्लबका सुक्रिया मगरले २१ औँ मिनेटमा गरेको प्रहार एपिएफकी गोलरक्षक अञ्जना रानाले नियन्त्रण गरिन् भने ८० औँ मिनेटमा वान–भर्सेस–वानको अवसर पनि सुक्रियाले गुमाइन् ।

खेलकी प्लेयर अफ द म्याच रश्मि घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । भोलि हुने तेस्रो क्वार्टर फाइनलमा संकटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.