इन्ट्रा पथरी शनिश्चरे गोल्डकप : पाँचथर क्लब सेमिफाइनलमा प्रवेश

पथरी शनिश्चरे,१७ कार्तिक ।अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप अन्तर्गत आज भएको रोमाञ्चक खेलमा पाँचथर क्लब पाँचथरले संकटा क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ।
मोरङको पथरी शनिश्चरे वडा नं १ को जाँते रोडस्थित प्रस्तावित रङ्गशालामा संचालन भैरहेको उक्त खेलको सुरुवाती मिनेटमै पाँचथर क्लबका जर्सी नम्बर ६ का विशाल घलानले प्रहार गरेको बल नै निर्णायक गोलमा परिणत भएको हो।

खेलभर पाँचथर क्लबले आक्रामक खेल प्रस्तुत गरेको थियो भने संकटा क्लबले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। दुवै टिमबीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको थियो।दर्शकदीर्घामा भरपूर उत्साह, हुटिङ र तालीले मैदान नै गुञ्जायमान बनेको थियो। पाँचथरका खेलाडीहरू अवसर सिर्जना गर्न सशक्त देखिए भने गोलरक्षकले पनि उत्कृष्ट बचाउहरू गरे।

खेलमा निर्णायक गोल गरेका विशाल घलानलाई उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ दि म्याच घोषित गरिएको थियो। उनलाई आजका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष खड्कबहादुर श्रेष्ठले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गरे।

भोलिको खेलमा झापा ११ फुटबल क्लब झापा र एनआरटी फुटबल क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। भोलिको खेलमा चर्चित फुटबल स्टार एरोन थापाले सहभागिता जनाउने जानकारी आयोजकले दिएको छ।
सामान्य विवादका बीच खेल सम्पन्न भए पनि खेलकुदको भावना र खेलाडीहरूको प्रदर्शनले दर्शकको मन भने जित्न सफल भएको थियो।

Leave a Reply

Your email address will not be published.