आयोजक डाँगीहाट बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

बेलबारी,१७ कार्तिक । मोरङको डाँगीहाट युथ क्लब लक्ष्मीमार्गमा जारी पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीको चुनौतीलाई बिहीबार टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले हराउदै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमार्फत हुँदा आयोजक डाँगीहाट विजयी भएको हो । उत्कृष्ट प्रदर्शन गरेको झापा समयलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाटै बिदा भयो । टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहारले पोस्टको दिशा लिन सकेन । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गरे ।

खेलमा दुवै टिमले बारम्बार गोल गर्ने अवसर पाए । तर अवसरलाई सदुपयोग गर्न सकेनन् । जसका कारण खेल निर्धारित समयमा नसकिएर टाइब्रेकरमा धकेलिएको हो । आयोजक डाँगीहाटका सुशील राईको एकपछि अर्को प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले विफल पारिदिए । झापाका रजिन सुब्बाको १४ औँ मिनेटको प्रहारलाई आयोजकका गोलरक्षक किशोर गिरीले रोकिदिए ।

अभिषेक गुरुङले १८ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । झापाका आशिष चापागाईंले ४२ औँ मिनेटमा प्रहार गरेको ‘फ्रि’ बलमा गोलरक्षक गिरी बाधक बनिदिए । खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक गिरीले ५ हजार नगद पुरस्कार पाए । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार शुक्रबार सहलेस युथ क्लब सिरहा र क्यामरुनको एभिनीयर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

Leave a Reply

Your email address will not be published.