
दमक,१६ कार्तिक । नेपाली कांग्रेस दमक ५ नम्बर वडा समितिले आज शुभदिपावली पर्वको अवसर पारेर सांस्कृतिक देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।
नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा खेलिने देउसी र भैलो खेललाई संरक्षण सम्बद्र्धन गर्दै सामूहिक रुपमा देउसीभैली कार्यक्रम गरिएको वडा सभापति चैतन्य बरालले जानकारी दिए ।
कांग्रेस दमकस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा झापा क्षेत्र नम्बर ५ भरिका कांग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सेल रोटी समेत पकाईएको र नेता कार्यकर्ताहरुले सेलरोटी खाँदै देउसी भैलोमा नाचगान गर्दै रमाईलो गरिएको कांग्रेस वडा उपसभापति सन्तोष गौतमले बताए ।
कार्यक्रममा कांग्रेस नगर सभापति प्रकाश प्रसाईंले यस्ता सांस्कृतिक कार्यक्रमले पार्टीका नेता कार्यकर्ताहरु वीचमा आपसी सद्भाव बढाउने काम गर्ने बताए । कार्यक्रममा पार्टीको आसन्न १४ औं महाधिवेशनमा बिभिन्न पदमा उम्मेद्वारी घोषणा गरेका नेताहरुले क्षेत्रीय प्रतिनिधिहरु समक्ष मत समेत मागेका थिए । आजै नेपाली कांग्रेस वडा नम्बर २ ले समेत तिहारको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको कांग्रेस वडा सभापति भागवत दुलालले जानकारी दिए ।