
दमक, १५ कात्तिक । तिहार नजिकिएसँगै झापाका व्यापारी फूलको जोह गर्न थालेका छन् । कोरोनाका कारण गत वर्ष तिहार चहलपहलरहित बनेकामा यस भने व्यापारी बेलैमा फूलको जोहोमा लागेका हुन् ।
भारतबाट आयात गरिएको र स्वदेशमा पनि व्यावसायिक उत्पादन भएको फूल अहिले ल्याएर चिस्यानगृहमा राख्ने क्रम बढेको छ । केही दिनयता दमकस्थित शान्ति कोल्ड स्टोरेजमा विभिन्न ठाउँबाट ल्याएर फूल ल्याएर राख्ने क्रम बढेको छ ।
चिस्यानगृहका कार्यकारी प्रमुख सन्तोष अधिकारीका अनुसार एक साताअघि नै फूल राख्ने क्रम बढेको छ । अहिलेसम्म २० गाडीभन्दा बढी फूल आइसकेको र आउने क्रम जारी रहेको बताए । टोकरीको दरले आउने भएकाले १३ सय टोकरी फूल स्टोरेज भएको अधिकारीले जनाए ।
एक सातापछिबाट फूलको माग धेरै बढ्ने र फूलको मूल्य पनि बढ्ने भएपछि व्यापारीले अहिलेदेखि नै फूल ल्याएर भण्डारण गर्ने गरेका हुन् । विशेष गरी भारतबाट अहिले सयपत्री फूल र माला आइरहेको छ । भारतमा बुनेर तयार गरेको माला केजीको दरले आउने गरेको व्यापारीहरूले जनाएका छन् ।
नेपालभन्दा भारतमा २५ देखि ३० प्रतिशतसम्म सस्तो हुने भएकाले भारतीय सयपत्री ल्याउने गरेको व्यवसायमा संलग्न साजन शाहले बताए ।
यस वर्ष बेमौसमी हावाहुरी र पानीका कारण झापालगायत स्थानमा फूल खेतीमा असर परेकाले स्थानीय आम्दानी भने कम हुने भएकाले पनि भारतबाट फूल आयात भइरहेको छ ।