
दमक, १३ कातिक । लामो समयपछि झापाको सीमानाका दुबैतर्फ खुलेसँगै दूईतर्फी आवतजावत बढेको छ । दशैअघि नै नेपालतर्फ सीमानाका खुलेको बताइए पनि भारततर्फ नखुलेकाले भारतबाट सवारी साधनहरु नेपाल आउन पाएका थिएनन् ।
शुक्रबारदेखि काँकडभिट्टा नाका भएर भारतीय सवारी साधनहरु नेपाल भित्रन थालेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । भारतीय नम्बर प्लेटका सवारी साधनले अस्थायी भन्सार महसुल बुझाएर निश्चित समयकालागि नेपाल प्रवेश पाउँदै आएका छन् ।
भारतको पश्चिम बंगालस्थित पानीट्याङ्की रानीगञ्ज नाका सञ्चालनमा नआउँदा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन नपाएपछि पुर्वी क्षेत्रको पर्यटन र बिभिन्न क्षेत्रमा यसको असर परेको थियो । अब यहाँको पर्यटनलाई पनि सहयोग पुग्नेछ, होटल तथा पर्यटन ब्यवसायी राजन दंगालले बताए ।
ती नाकाबाट शुक्रबार र शनिवार बिहानसम्ममा १ सय १८ वटा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुनिल दाहालकाअनुसार कोराना संक्रमण फैलिएपछि बन्द भएको नाका शुक्रबार खुल्दा १ सयभन्दा बढि भारतीय सवारी साधन नेपाल प्रवेश गरेका छन् ।
कोरोना संक्रमण बढ्दै गएपछि गत असोज १८ गतेदेखि नै नेपालले भन्सारमा आवतजावत सहज बनाउन आवश्यक निर्णय गरेको थियो । कोभिड १९ का कारण डेढ बर्ष अघिदेखि नाकामा सवारी साधन वारपार नहुदाँ यहाँको ब्यापार ब्यवसायमा पनि नराम्रो असर परेको भन्दै ब्यवसायीहरुले नाका खुलाउन पहल गर्न बारम्बार स्थानीय प्रशासनसँंग माग गर्दै आएका थिए ।
यसैबीच २० महिनापछि झापाको भद्रपुर–गलगलिया सीमानाका पनि खुलेको बताईएको छ । एक महिना अघि नेपालले नाँका खोल्ने निर्णय गरेपनि भारतले भने आवतजावत रोक्दै आएको थियो ।