इटहरी ,११ कार्तिक । भाइटिकाको दिन सुनसरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ प्रहरीका अनुसार बुधबार राति सुनसरी इटहरी–१७ पकलीस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नं को मोटर साइकलले सोही दिशा तर्फ जाँदै गरेको ठेला लाई ठक्कर दिँदा ठेला चालक इटहरी १७ बस्ने वर्ष ४५ को तेज नारायण साहको मृत्यु भएको हो ।
मोटसाइकल चालक मोरङ बेलबारी ८ बस्ने वर्ष ४५ का विक्रम खड्का समेत घाइते भई उपचारका लागी न्युरो अस्पताल विराटनगर पठाइएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।
यसैगरी विहीवार दिउँसो १२ः४५ बजेको समयमा इनरुवा ५ दुहबी इनरुवा सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहक्षेत्र ८ बस्ने वर्ष २७ को जीवन राउत गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोजतलास भइरहेको छ ।
यसैगरी बिहिवार साँझ भोक्राहा नरसिंह ५ जनताचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नं को कारले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारत सुपौल बनौलि पञ्चायत बस्ने वर्ष ३५ को गुलाब मेहता गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जनाईएको छ ।