
कनकाई,७ कार्तिक । कनकाई नगरपालिकामा एउटै मानिस एमालेको वार्ड सचिव र माओवादीको वडाअध्यक्ष भएको पाइएको छ । कनकाई नगरपालिका २ का माओवादी केन्द्रका वडासभापति नरबहादुर राई हिजो एमालेको सम्पन्न १० औ वडाअधिवेशनबाट वडा सचिवमा निर्वाचित बनेका हुन । उनी माओवादीको केहि दिन पहिले भएको वार्डभेलाबाट २ नम्बर वार्डका अध्यक्ष चुनिएका थिए । उनी एमालेको समेत सचिव चुनिए । अध्यक्षमा भने विष्णु गिरी भए । सबै साथीहरु एमालेतिर लागेकाले आफुपनि एमालेमै लागेको राईले बताए ।
कांग्रेसको वडा उपसभापति, एमालेको वडा सचिवमा चुनिए
दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका छन् ।
‘कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएका हुन् । एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।