दमक,६ कार्तिक । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज २६ औं साधारणसभा सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख थापाले गुणस्तरमा नेपालमै दोस्रो र आन्तरिक व्यवस्थापनमा पहिलो बनेर दमक खानेपानी संस्थाले दमकबासीलाई सेवा दिईरहेको भन्दै प्रशंसा गरे । यहाँका उपभोक्ता सबै सक्रिय रहेकालेनै संस्था उत्कृष्ट बनेको भन्दै उनले नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन नगरपालिकाले संस्थासंग सहकार्य गर्ने बताए। आफ्नो पाँच बर्से कार्यकालमा खोपानी, स्वास्थ्य र शिक्षामा परिवर्तन भएको अनुभुति दिलाउने गरी काम गर्ने भन्दै नगर उनले खानेपानीमा जस्तै दलिय सहकार्य अन्य क्षेत्रमा पनि आवश्यक रहेको औल्याए।
कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले बढ्दो शहरीकरण संगै केहि चुनौति भए पनि उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन संस्थाले गरेको मेहनतको प्रशंसा गरिन्। कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाले समेत शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाको अवसरमा संस्थाबाट अवकास प्राप्त कर्मचारीहरु टंक भुजेल र गोपाल शिवाकोटीलाई सम्मान सहित बिदाई गरिएको थियो । संस्थाको बन्द सत्रले अध्यक्ष रोशनकुमार गौतमको प्रतिवेदन सुझाव सहित पारित गरेको सचिव हरिकुमार सुबेदीले जानकारी दिए।