ताप्लेजुङ ५ कार्तिक। ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान र छोरा पक्राउ परेका छन् । छोरासँग मिलेर कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका ४५ वर्षीय विद्याराज लिम्बू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार दाउराको चिर्पट प्रहार गरी श्रीमती विष्णुकुमारी लिम्बूको हत्या गरेको आरोपमा छोरा २१ वर्षीय मनोज लिम्बूसहित विद्याराज पक्राउ परेका हुन् । गत असोज २७ गते बाबुछोरा मिलेर विष्णुकुमारीमाथि कुटपिट गरेका थिए । कुटपिट भएको केही दिनपछि विष्णुकुमारीको मृत्यु भएको थियो ।