तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

झापा,४ कार्तिक । फूलहरूको पर्व अर्थात तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन् । आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिकरूपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरू सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिकी अध्यक्ष भावना गुरुङले बताईन् ।
“माग धान्नै गाह्रो भइरहेको छ”, उनले भनिन्, “तिहारका लागि मात्र एक हजार पाँच सय माला माग छ । तर चुनावी कार्यक्रममा दैनिक सयभन्दा बढी माला गइरहेकाले माग गरेको माला दिन नसकिने भो भनेर चिन्तित छौँ ।” तीस वटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला रु ८० का दरले बिक्री भइरहेको उनको भनाइ थियो ।
पहिलोपटक फूलखेती गरेका महिलाले मागअनुसारको माला पु¥याउन गाह्रो भएपछि अर्को वर्षदेखि एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने सोचमा रहेको उनले सुनाए । “फूल फुलाउनु मात्र पर्दोरहेछ, किन्ने ग्राहक बारीमै आउँछन् । थोरै खर्च र मेहेनतमा आम्दानी पनि धेरै हुँदोरहेछ”, उनले भनिन् ।
उनीहरूलाई सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आएका छन् । फूलखेतीका लागि महिलाले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरूलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत वडाध्यक्षकै भूमिका रहेको छ ।
मेचीनगर–९ मा डिएण्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत आठ वर्षदेखि नर्सरी व्यवसायमा संलग्न डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक बिघा जमिन लिजमा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् ।
कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गर्दै आएका उप्रेतीले विगतको भन्दा यस वर्ष झापामा फूलको व्यावसायिक खेती घटेको बताए । फूलको माग भए पनि उत्पादन कम भएका कारण गाह्रो भइरहेको उनले बताए । “हामी माला उनेर बेच्न भ्याउँदैनौँ”, उनले भने , “बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ, तीन सय थुँगाको रु पाँच सय गरेर रकम लिन्छौँ ।”
तरकारी, खरबुजालगायतका व्यावसायिक खेती गर्दै आएका उनले चित्तबुझ्दो खेतीको रूपमा सयपत्री फूलको भएको बताए । सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ । सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि व्यवसायिकरूपमा गर्न नसक्दा फूलको परनिर्भरतालाई अझै हटाउन नसकिएको उनको भनाइ छ । उनले कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउने हो भने फूलमा जिल्लालाई आत्मनिर्भर बनाउन समस्या नहुने बताए ।

Leave a Reply

Your email address will not be published.