दमक, ४ कार्तिक । पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चले आफना माग सम्बोधन नभएको भन्दै आसन्न निर्वाचनमा सहभागिता नजनाउने जनाएको छ ।मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद योङयाले प्रेस विज्ञप्ति जारी गरि आफूहरुले उठाउदै आएको राजनीति,शासकीय अधिकार लगायतका माग पूरा नभएकाले मंसिर ४ मा हुन गईरहेको आमनिर्वाचनमा शान्तिपूर्ण बहिष्कार गर्ने उल्लेख गरेका छन् । निर्वाचन बहिष्कार गरिएपनि कुनै पनि हिंसात्मक गतिविधिहरु नगर्ने जनाएको छ । तर मंसिर ४ पछिको सरकारलाई स्वीकार्य गरेपनि आफना मुद्धा स्थापित गर्न शान्तिपूर्ण आन्दोलन भने जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।
११ वुँदे विज्ञप्तिमा भनिएको छ , –‘नेपालको संविधानले देशका धेरै समुदायको भावनालाई समेट्न सकेको छैन, त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न बाँध्य छौं ’अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहित छुट्टै लिम्बूवान राज्य हुनुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरिआएको मञ्चले जनाएको छ ।
यसैगरि , मञ्चले यहि कार्तिक ७ गते संयुक्त राष्ट्रसंघको स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने भएको उल्लेख छ ।बर्सेनी मनाउदै आएको स्थापना दिवसमा मञ्चले विभिन्न स्थानमा राष्ट्रसंघको झण्डातोलन गर्नुका साथै साँझ घरघरमा दीपप्रज्जवलन गरि दीपावली समेत गर्ने मञ्चका उपाध्यक्ष मचिन्द्र आङदेम्बेले बताए ।
मञ्चले मानव एकता तथा विश्व शान्तिको कामना गरि राष्ट्रसंघको स्थापना दिवस भव्य रुपले मनाउन सम्पूर्ण तयारी पूरा भएको समेत जारी विज्ञप्तिमा जनाईएको छ ।